दोलखा ।
जिल्लामा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । नेपाली सेनाका भूतपूर्व सैनिकहरूको सम्मेलन बिहीबार सदरमुकाम चरीकोटमा रहेको तारादल गणमा भएको हो । सेनाका भूतपूर्व सैनिक तथा तिनका परिवारहरू लागि कल्याणकारी तथा आयमूलक कार्यहरूलाई प्रभावकारीरूपमा विकेन्द्रीकृत र विकास गरी हिताधिकारीहरूको घरदैलोसम्म पु-याउने उद्देश्यले सम्मेलन गरिएको नेपाली सेनाले जनाएको छ ।
मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिबासमा मुख्य शिविरको रूपमा भूपू सैनिक सम्मेलन सञ्चालन भएको हो । दोलखा जिल्लाबाट पेन्सन खाने हिताधिकारीहरूलाई लक्षित गरी तारादल गणले सहायक शिविरको रूपमा भूतपूर्व सैनिक सम्मेलन सञ्चालन गरेको थियो । सम्मेलनमा जिल्लाका एक सय जना भूपू सैनिक तथा एकल महिलाहरूलाई सहभागी थिए ।
गणका गणपति अनिल केसीले शिविरमा सहभागी भूतपूर्व सैनिक तथा एकल महिलासँग अन्तरक्रिया समेत गरेका थिए । साथै उनीहरूलाई सैनिक कल्याणकारी बोर्डबाट प्राप्त भएका विभिन्न सामानहरू समेत वितरण गरिएको थियो । बाँकी रहेका अन्यलाई चैत्र १९ गतेदेखि २६ गतेसम्म वितरण गरिने तारा दल गणले जानकारी दिएको छ । दोलखामा नेपाली सेनाका भूतपूर्व सैनिकहरको कुल संख्या दुई हजार चार सय पाँच जना रहेको छ ।