काठमाडौं ।
नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले ईपीएसअन्तर्गत वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान अनुमति पाएका युवालाई कोरिया जाने वातारण मिलाउन सरकारसँग आग्रह गरेकी छिन् । गत १३ महिनादेखि झन्डै १० हजार नेपाली युवाहरूलाई रोजगारीको लागि कोरिया जान तयारी अवस्थामा रहे पनि जान पाएका छैनन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले हजारौँ युवाहरूको लगानी र समय खेर गइरहेकाले तत्काल कुटनीतिक माध्यमबाट कोरिया सरकारसँग वार्ता गरेर उनीहरूलाई कोरिया जाने वातावरण तयार गर्न सरकारसँग माग गरिन् । उनले विश्वव्यापी कोरोना महामारीका कारण लाखौँ नेपाली श्रमिकहरूले विदेशमा रोजगारी गुमाएको, दशौँ हजार नेपाली युवा स्वदेश फर्केको तर उनीहरूको पुनर्स्थापन तथा रोजगारीका लागि सरकारले कुनै पहल नगरेको बताइन् ।
नेपाली कांग्रेसले गठन गरेको छाया मन्त्रिपरिषद्मा श्रम तथा रोजगार मामिला हेर्ने सांसद संग्रौलाले यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई छुट्टाछुट्टै भेटी अलपत्र परेका नेपाली युवाहरूको समस्याबारे अवगत गराएकी थिइन् । उनले सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर श्रम गन्तव्यमा जान नपाएका युवाहरूको विषयमा मन्त्रीद्वयको ध्यानाकर्षण गराउँदै नेपाली युवाहरूलाई जतिसक्दो चाँडो कोरिया पठाउन माग गरेकी हुन् ।
संग्रौलाले कोरिया जानबाट वञ्चित रहेका कामदारहरूले बुझाएको ज्ञापनपत्र पनि मन्त्री ज्ञवालीलाई बुझाएकी थिइन् । ज्ञापनपत्रमा हाल नेपालका ७७ वटै जिल्लाबाट १० हजारभन्दा बढी युवाहरू कोरिया सरकारले तोकेका सबै प्रक्रिया पूरा गर्दा पनि कोरिया जानबाट वञ्चित हुँदा भाषा प्रशिक्षणसहित मेडिकल जाँचलगायतको खर्च डुब्ने र यसबाट उनीहरूको भविष्य नै अन्योलमा परेको उल्लेख छ ।
कोरियामा हाल ३० हजारभन्दा बढी नेपाली कामदार ईपीएसअन्तर्गत काम गरिहेका छन् । नेपाललगायत १६ वटा देशबाट कोरियाले ५० हजारभन्दा बढी कामदार वार्षिकरूपमा लैजाने गरेको छ । कोरोना महामारीका कारण झन्डै एकवर्ष विदेशी कामदार लैजाने क्रम रोकेको कोरियाले अहिले भने कामदार लैजान थालिसकेको छ । कोरियाले विदेशी कामदार लैजान थालिसक्दासमेत नेपाली कामदार कोरिया जान नपाएको छनौट भइसकेका युवाहरूको गुनासो छ । सरकारले दक्षिण कोरिया सरकारसँग छलफल गरी रोकिएको कामदार लैजाने प्रक्रिया तत्काल सुरु गर्न पनि सांसद संग्रौलाले माग गरेकी छिन् ।