विराटनगर ।
विराटनगरको मुख्य क्षेत्रमा सञ्चालन हुँदै आएको एक कपडा पसलको गोदाममा आन्तरिक राजस्व कार्यालय विराटनगरले छापा मारेको छ । अवैधरूपमा कपडा भण्डारण गरेको आशंकामा कार्यालयले गोदाममा छापामारी कागजात समेत नियन्त्रणमा लिएको छ । विराटनगरको रंगेली रोडमा लामो समयदेखि कपडाको होलसेल कारोबारमा गर्दै आएका विजयराज डागाले नेपाल टेक्सटायल नामको फर्मबाट करोडौँको कारोबार गर्दै आएका छन् । तर उनले सरकारलाई तिर्ने कर भने न्यून कारोबार देखाएर थोरै मात्रै तिर्ने गरेको पाइएपछि आन्तरिक राजस्व कार्यालयले उनको गोदाममा अनुगमन गरी कागजात नियन्त्रणमा लिएको हो ।
उक्त फर्मका सञ्चालक डागाले नेपालमै उत्पादन भएका कपडाहरूको करोडौँको होलसेल कारोबार गर्दा पनि आफ्नो फर्मको मासिक विवरणमा न्यून कारोबार देखाएर राजस्व ठगी गरेको स्रोतले बताएको छ । व्यवसायी डागाले गतवर्ष भएको लकडाउनका समय अपेक्षा गरेको भन्दा पनि ठूलो मात्रामा कारोबार गरेको थिए । तर उनले सरकारलाई बुझाउने कारोबार विवरणमा भने न्यून कारोबार देखाएर मूल्य अभिवृद्धि करदेखि आयकरमा समेत व्यापक राजस्व ठगी गरेको आशंका राजस्व स्रोतले गरेको छ ।
विराटनगरमा आन्तरिक राजस्व कार्यालयबाट भएको कपडा गोदामको छापामारी प्रकरणले राजस्व अपचलन तथा चोरी निकासी कारोबारमा संलग्न व्यापारीहरूका बीचमा पछिल्लो समय खैलाबैला मच्चिन पुगेको छ । पछिल्लो समय विराटनगरका व्यावसायिक प्रतिष्ठानहरूले बिक्रीका लागि राखिएका कपडा बिक्री गर्दा बिल बीजक जारी नगरी बिक्रीवितरण गर्ने क्रम अत्यधिक बढेर गएको अवस्थामा आन्त्रिक राजस्व कार्यालयबाट बजार अनुगमन गरी कारबाही चलाउने काम गरेकोमा कानुनी राज्यको अनुभूति भएको सर्वसाधारणहरूको भनाइ छ ।
आन्तरिक राजस्व कार्यालयले बजार अनुगमनलाई अझ तीव्रता दिएर राजस्व असुली गर्नुपर्ने आवाज पनि पछिल्लो क्रममा सार्वजनिक भएको छ । स्रोतका अनुसार मोरङमा कडाइ भएपछि पछिल्लो समय सुनसरीको नाका कपडा तस्करीमा प्रयोग गर्ने क्रम बढेको बताइएको छ ।
विगतदेखि नै सुनसरीको दक्षिण क्षेत्रबाट क्यारिङ गर्नेले कपडाको तस्करी गर्दै आएको रहस्य पनि अहिलेको राजस्वको छापा प्रकरणसँगै तस्करीका तथ्यहरू खुल्न थालेको दाबी व्यवसायीस्रोतले नै गरेको छ । गत वर्ष चैत ११ गतेदेखि भएको लकडाउनको बहाना बनाएर बजारमा हुँदै आएको अवैध व्यापारिक कारोबार नियन्त्रणका लागि पछिल्लो समय आन्तरिक राजस्व कार्यालय समेत आक्रामक हुँदै बजार अनुगमनलाई तीव्रता दिन थालेको छ ।