काठमाडौं ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्नसक्ने कार्यक्रमहरू मात्र प्रस्ताव गर्न मन्त्रालयहरूलाई आग्रह गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्नसक्ने कार्यक्रमहरू र सोहीअनुसार बजेट प्रस्ताव गर्न अनुरोध गरेका हुन् । खर्च हुन नसक्ने भएकाले सरेन्डर गर्नुपर्ने अवस्था पनि रहेको उल्लेख गर्दै उनले बहुवर्षीय योजनाहरूमा पनि जति खर्च गर्ने हो, त्यहीअनुसार बजेट राख्न सुझाए ।
सिलिङभित्र रहेर बजेट निर्माण गर्नुपर्ने सीमा रहेको उल्लेख गर्दै उनले बजेट कार्यान्वयन गर्नसक्ने संयन्त्रलाई पनि ध्यान दिन जरुरी रहेको बताए । साथै उनले प्राथमिकताका आधारमा कार्यक्रमहरू प्रस्ताव गर्न आग्रह गरे । अन्तरमन्त्रालय बीच समन्वयको आवश्यकता रहेको पनि उनले औल्याए । कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई बजेट र नीतिमार्फत सम्बोधन गर्ने उनको भनाइ थियो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रह गरे । आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले साना कार्यक्रमहरू भन्दा संघीयताको मर्म र भावना अनुसार ठूला र विशेष कार्यक्रममा जोड दिनु पर्ने बताए । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेटमा समावेश गर्नु पर्ने कार्यक्रम तथा बजेटबारे मन्त्रालयहरू र सरोकारवालासँग छलफल गर्नुका साथै सुझाव पनि संकलन गरिरहेको छ ।