काठमाडौं ।
सरकारले केराउ, सुपारी, छोकडालगायतका सामग्री आयातमा लगाएको बन्देज हटाएसँगै व्यवसायीहरूले लाखौँ परिमाणमा उक्त सामग्री भित्र्याउने तयारी गरेका छन् । सोसँगै यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केराउ, सुपारी, छोकडालगायतका सामग्री भित्र्याउन चाहने व्यवसायीहरूलाई विभागको सम्पर्कमा आउन आग्रह गरेको छ ।
विभागका अनुसार बन्देज हटेसँगै व्यवसायीहरू लाखौँ परिमाणमा केराउ, सुपारी, छोकडा र नधुल्याएको मरिच आयात गर्नको लागि तयार भएको जनाएको छ । विभागका प्रवक्ता शिवराज सेढाईंले लाखौं परिमाणमा केराउ, सुपारी, छोकडा र नधुल्याएको मरिच आयात गर्नका लागि व्यवसायीहरूले पाँच सय ८८ वटा निवेदन विभागसमक्ष दिएको बताए । व्यवसायीहरूले १२ लाख २५ हजार दुई सय ९० मेट्रिक टन केराउ आयात गर्न दुई सय ३३ वटा निवेदन, दुई लाख २७ हजार दुई सय ७० मेट्रिक टन सुपारी आयात गर्न ८५ निवेदन, ४१ हजार नौ सय १५ मेट्रिक टन छोकडा आयात गर्न १०१ निवदेन, एक लाख ४० हजार ८२ मेट्रिक टन नधुल्याएको मरिच आयात गर्न एक सय ६९ निवेदन विभागसमक्ष दिएका छन् ।
यसैबीच विभागले व्यवसायीहरूलाई पैठारीकर्ताबाट माग भएको वस्तु तोकिएको समयमा आयात हुने निश्चित गर्न आवश्यक कागजात संलग्न नगरी अधिकांश निवेदन केवल निवेदन र माग गरेको परिमाण मात्र उल्लेख गरी पेश गरिएको भन्दै आवश्यक कागजात पेश गर्न आग्रह गरेको छ ।
व्यवसायीहरूले आयातित वस्तु वास्तविक उपभोक्तासम्म पुग्ने निश्चितताका लागि व्यवसायको कम्पनी/उद्योग/वाणिज्य दर्ता अनुमतिपत्र, आव ०६७/०७७ सम्मको करचुक्ता प्रमाणपत्र, आयात गर्ने सम्भावित मुलुक, प्रज्ञापनपत्र (एनओसी) जारी गर्ने सम्भावित समय, यसपूर्व आयात गरेको भए सोको विवरण र आयात परिमाण खुल्ने कागजात तीन दिनभित्र संलग्न गर्न आग्रह गरेको छ ।
सरकारले चैत दोस्रो साता राजपत्रमा सूचना प्रकाशित गर्दै केराउ, सुपारी, छोकडा र नधुल्याएको मरिचको आयातमा लगाइएको पूर्ण बन्देज हटाएको थियो । सरकारले कोरोना महामारीका कारण देखाउदै बन्दाबन्दीको समयमा अति आवश्यक नपर्ने केराउ, सुपारी, छोकडा, महँगा सवारीसाधनको आयातमा प्रतिबन्ध लगाएको थियो तर केराउ, सुपारीजन्य सामग्री भने सीमा क्षेत्रमा कालोबजारी हुँदा सरकारलाई समस्या परेको थियो ।
राजपत्रमा प्रकाशित सूचनाअनुरुप केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आर्थिक वर्ष २०७७/०७८ अवधिको लागि कुल ८० हजार मेट्रिक टन परिमाणमा ननाघ्ने गरी विदेशबाट आयात गर्न सकिने गरी परिमाणात्मक बन्देज लगाइएको छ थियो भने मरिचको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आवको ०७७/०७८ अवधिको लागि कुल १५ हजार मेट्रिक टन परिमाणमा ननाघ्ने गरी विदेशबाट आयात गर्न सकिने व्यवस्था गरिएको थियो ।
यस्तै सूचनाअनुरुप सुपारीको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आवको ०७७/०७८ अवधिको लागि कुल २५ हजार मेट्रिक टन परिमाणमा ननाघ्ने गरी विदेशबाट आयात गर्न सकिने तथा छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आवको ०७७/०७८ अवधिको लागि कुल पाँच हजार मेट्रिक टन परिमाणमा ननाघ्ने गरी विदेशबाट आयात गर्न सकिनेछ ।
यस्तै छोकडाको हकमा भने ०७६ चैत १६ गते अगाडि नै चलान (सिपिङ) भइसकेको तर विभागको स्वीकृति नलिएका छोकडाको हकमा सम्बन्धित भन्सार स्थिति विभागको कार्यालयले गुणस्तर प्रमाणीकरण गरी उपयुक्त देखिएको सिफारिस गरेमा त्यस्तो छोकडा पैठारी गर्न स्वीकृति दिने भएको छ । यस्तै केराउ, सुपारी, छोकडा र नधुल्याएको मरिच आयातमा लगाएको बन्देजसँग यसको मूल्य बढेको थियो भने सहजसँग मूल्य संयोजन हुने व्यवसायीहरूको भनाइ छ ।