काठमाडौं ।
यस साता सेयर बजार परिसूचक २६ सय ३१ दशमलव ८९ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ६६ दशमलव ४२ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय १८ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार दुई लाख ७४ हजार पाँच सय २० पटकको कारोबारमा चार करोड ७० लाख २१ हजार दुई सय ५३ कत्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम २४ अर्ब एक करोड ३९ लाख पाँच हजार नौ सय ७० रूपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा कम हो ।
गत साता धितोपत्र बजारमा दुई सय ११ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुुसार तीन लाख ५१ हजार पाँच सय ११ पटकको कारोबारमा छ करोड ३१ लाख २१ हजार एक सय नौ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम २९ अर्ब ५८ करोड ८३ लाख पाँच हजार तीन सय ४४ रूपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष चार कार्य दिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो दिन सार्वजनिक बिदा परेको थियो भने दोस्रो दिन बजार ओरालो लागेको थियो । यीबाहेकका बाँकी दिनहरूमा भने बजार परिसूचक उकालो लागेको थियो ।
तीमध्ये दोस्रो दिन बजार परिसूचक पाँच दशमलव ४५ अंकले ओरालो लागेर २५ सय ४३ दशमलव ५२ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ३९ बिन्दुले ओरालो लागेर चार सय ४९ दशमलव ९२ बिन्दुमा झरेको थियो । तेस्रो दिन भने बजार परिसूचक ३२ दशमलव १५ अंकले उकालो लागेर दुई हजार पाँच सय ७५ दशमलव ६६ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव १९ अंकले उकालो लागेर चार सय ५६ दशमलव १० बिन्दुमा चढेको थियो ।
चौथो दिन पनि बजार परिसूचक ४३ दशमलव ३६ अंकले उकालो लागेर दुई हजार छ सय १९ दशमलव दुई बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ४८ अंकले उकालो लागेर चार सय ६३ दशमलव ५९ बिन्दुमा चढेको थियो । अन्तिम कारोबार दिन पनि बजार परिसूचक १२ दशमलव ८८ अंकले उकालो लागेर दुई हजार छ सय ३१ दशमलव ८९ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८३ अंकले उकालो लागेर चार सय ६६ दशमलव ४२ बिन्दुमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल पुनर्बीमा कम्पनी, नेपाल बंगलादेश बैंक आदिको बढी रकम कारोबार भएको छ । सेयर कारोबार भएको संख्याको आधारमा भने यस साता नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बैंक र नेसनल हाइड्रोपावर कम्पनी अगाडि परेका छन् । बजार पुँजीकरणका आधारमा आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंकलगायतका कम्पनीहरू परेका छन् ।
सातामा छवटा कम्पनीहरूको बोनस तथा हकप्रद सेयर सूचीकृत
नेप्सेका अनुसार यस साता आधा दर्जन कम्पनीहरूको बोनस, हकप्रद तथा साधारण सेयर नियमित कारोबारका लागि सूचीकृत भएका छन् । जसमध्ये आरएसडीसी लघुवित्त वित्तीय संस्थाको नौ प्रतिशतको अनुपातमा छ लाख चार हजार तीन सय ७० दशमलव ४५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी एनएमबी लघुवित्त वित्तीय संस्थाको पनि यसदिन १९ प्रतिशतको अनुपातमा आठ लाख ६१ हजार आठ सय ७३ दशमलव २५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
पोखरा फाइनान्सको पनि पाँच प्रतिशतको अनुपातमा चार लाख ५८ हजार छ सय ४० दशमलव ८६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार यसदिन सहरा बिकास बैंकको भने नौ लाख २१ हजार एक सय ४८ दशमलव ७० कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । यसैगरी विजय लघुवित्त वित्तीय संस्थाको पनि १९ प्रतिशतको अनुपातमा चार लाख २५ हजार छ सय ५९ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको पनि साधारण सेयर सूचीकृत भएको छ ।