विराटनगर ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १९औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाको गत शुक्रबार सम्पन्न भएको साधारणसभामा संस्थाका अध्यक्ष दिपक खनालले आव २०७६/०७७ को वार्षिक प्रतिवेदन पेस गरेका थिए । उक्त सभाले अध्यक्ष खनालले प्रस्तुत गरेको १५ प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश (कर समेत)को प्रस्ताव स्वीकृत गरेको छ । बोनस सेयरपछि संस्थाको चुक्ता पुँजी एक अर्ब १५ करोड ६२ लाख पुगेको छ ।
साथै धादिङ जिल्ला गजुरीमा केन्द्रीय कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रारम्भिक समझदारीपत्र अनुमोदन गरेको छ । सभाले समूह ‘क’ संस्थापक सदस्यहरूमध्येबाट सञ्चालकहरूको निर्वाचन समेत गरेकोे छ । निर्वाचित सञ्चालकहरूमा लुम्बिनी विकास बैंक लिमिटेडको तर्फबाट दिपक खनाल, कृषि विकास बैंक लिमिटेडको तर्फबाट यज्ञप्रकाश न्यौपाने र विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स–नेपाल)को तर्फवाट गणेशकुमार केसी निर्विरोध भएका छन् । निर्वाचनपछि बसेको सञ्चालक समितिको बैठकले लुम्बिनी विकास बैंक लिमिटेडबाट प्रतिनिधित्व गर्ने निर्विरोध निर्वाचित सञ्चालक दिपक खनाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । (आर्गिक दैनिकबाट)