काठमाडौं ।
‘ब्रह्माको सुरलोक हो अघि ठूलो बर्मा भयो त्यही पछि,
सत्ता सैनिकले लिँदा मुलुकको ऐले भयो दुर्गति
जुन्ताको सरकारले यति ठूलो संहार ऐले ग-यो,
बोलेनन् किन चीन–भारत दुवै आश्चर्य मान्नै प-यो’
मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित मासिक शान्ति काव्य प्रवाहको ८८औं शृंखलामा म्यानमारमा यति ठूलो अत्याचार भइरहँदा बर्माका छिमेकीहरू चीन र भारतको मौनताबारे प्रश्न गर्दै कवि रत्ननिधि रेग्मीद्वारा प्रस्तुत कविताको अंश हो यो । कोभिड त्रासदीका कारण १४ महिना स्थगनपछि चैत २६ गते काठमाडौँमा सुचारु भएको शान्ति काव्य प्रवाहमा कविहरूले म्यानमार (बर्मा)मा भइरहेको अत्याचारको निन्दा गर्दै बर्मेली जनताको जीवन रक्षा र शान्ति वहालीका लागि समस्त विश्व एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले बर्मामा लोकतन्त्रको पक्षमा उभिएका दुई जना कविहरूको हत्या र नौ जना कविहरूको गिरफ्तारीको निन्दा र भत्र्सना गर्दै बर्मेली जनताको लोकतन्त्र पुनस्र्थापनाको अहिंसात्मक आन्दोलनमा विश्वका सबै कवि लेखकहरूले साथ दिनुपर्ने बताएका थिए । शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनीले बर्मेली जनताको स्वतन्त्रताको अहिंसात्मक आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए ।
शान्ति समाज केन्द्रीय सभापति गोविन्द खनालको सभापतित्व र महासचिव रामकृष्ण बरालको सञ्चालनमा सम्पन्न काव्य प्रवाहमा सहभागि कविहरूलाई शान्ति समाजका आजीवन सदस्य कवि रामबाबु दाहालको हालै प्रकाशित कविता संग्रह ‘मनका स्वरहरू’ र शान्ति समाजका तर्फबाट मास्क, स्यानिटाइजर र साबुनसहित सात हजार पाँच सयको स्वास्थ्य सामग्री उपहार स्वरूप प्रदान गरिएको थियो ।
काव्य प्रवाहमा कविहरू ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, साधना प्रतीक्षा, ऋचा, रत्ननिधि रेग्मी, प्रकाशमणि दाहाल, रत्नलक्ष्मी श्रेष्ठ, जसध्वज गुरुङ, प्रिति कौर, त्रिपुरा पौडेल, दुर्गा किरण तिवारी, विमला दाहाल, रुद्र अधिकारी, भुवन शिवाकोटी, मुकुन्द न्यौपाने, निर्मल पराजुली, शेरबहादुर अधिकारीसहित १८ जनाले कविता वाचन गरेका थिए ।