अमेरिका । विश्व बैंकका प्रमुखले विश्वका नेताहरुलाई कम्पनीहरुका लागि विश्वभर प्रस्तावित एउटै न्यूनतम कर दर अत्यन्त धेरै हुने भन्दै आपत्ति जनाएका छन् । बीबीसीसँगको अन्तर्वार्ताका क्रममा बैंक प्रमुख डेभिड माल्पासले नयाँ नियमले गरिब देशहरुलाई लगानी भित्र्याउन समस्या हुने भन्दै प्रस्तावित करदरमा असहमति जनाएका हुन् । अमेरिकी वाणिज्यमन्त्री जानेट येलेनले २१ प्रतिशत विश्वभर न्यूनतम करदर प्रस्ताव गरेपछि विश्व बैंक प्रमुखको यस्तो प्रतिक्रिया आएको हो । उनले उक्त करदरलाई साह्रै धेरै रहेको टिप्पणी गरे । यो वर्षको मध्यावधिसम्म विश्व कर सम्झौता हुनसक्ने बताइएको छ । येलेनले भने कम्पनीहरुलाई न्यूनतम कर दर तोक्न आवयक रहेको बताइन् । उनले सबै देशले अमेरिकी प्रस्तावलाई मानिदिनुपर्ने टिप्पणी गरेको बीबीसीले जनाएको छ । अमेरिकामा नयाँ राष्ट्रपति बनेयता जो बाइडेनले न्यूनतम कर दर २८ प्रतिशत पु-याउन लागिरहेका छन् । यसअघि अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी)ले कर्पोरेट ट्याक्सको न्यूनतम दर साढे १२ प्रतिशत राख्नेबारे छलफल गरेको थियो । त्यस्तै न्यूनतम करदर तोक्नेबारे आफ्नो सहमति रहने युरोपेली आयोगले पनि जनाइसकेको छ । तर आयरल्यान्डलगायतका देशले अमेरिकी प्रस्तावको विरोध गरिरहेका छन् । विश्वमा औसत कर्पोरेट ट्क्याक्स दर २४ प्रतिशत रहेको ट्याक्स फाउन्डेसनले जनाएको छ । यसमा युरोपको क्षेत्रीय यस्तो दर २० प्रतिशत मात्रै छ । यता विश्व बैंक प्रमुख माल्पासले एउटै ग्लोबल ट्याक्सबारे छलफल हुनु सकारात्मक भएको बताए ।