काठमाडौं ।
चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा दुई खर्ब नौ अर्ब ४४ करोड रुपैयाँबराबरको थप धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी पछिल्ल्लो प्रतिवेदनअनुसार एक खर्ब ५० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, ३५ अर्ब ३७ करोडबराबरको साधारण सेयर, १३ अर्ब ७१ करोडबराबरको बोनस सेयर, सात अर्बबराबरको डिबेन्चर, दुुई अर्ब ७१ करोडबराबरको हकप्रद सेयर र ६५ करोड रुपैयाँबराबरको म्युचुअल फण्ड समेत गरी उक्त परिमाणमा थप धितोपत्र सूचीकृत भएको हो ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब ९३ करोडबराबरको साधारण सेयर, १० अर्ब ६४ करोडबराबरको डिबेन्चर, एक अर्ब ९६ करोडबराबरको हकप्रद सेयर र एक अर्ब ५० करोडबराबरको म्युचुअल फण्ड गरी कुल २५ अर्ब तीन करोडबराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ । राष्ट्र बैंकका अनुसार २०७६ माघ मसान्तमा १३ सय ४६ रहेको नेप्से सूचकांक २०७७ माघ मसान्तमा २५ सय २६ दशमलव नौ पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकांक १३ सय ६२ दशमलव चार रहेको थियो । २०७७ माघ मसान्तमा धितोपत्र बजार पुँजीकरण ३४ खर्ब छ अर्ब १७ करोड पुगेको छ ।
२०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो । २०७७ माघमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या दुुई सय १६ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये एक सय ४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् भने ३७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, चार/चारवटा होटल तथा व्यापारिक संस्था र सात अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय १२ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७२ दशमलव एक प्रतिशत छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा छ दशमलव दुई प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा चार दशमलव एक प्रतिशत, होटलको हिस्सा शून्य दशमलव आठ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शून्य दशमलव आठ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १६ दशमलव दुुई प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ माघसम्ममा सूचीकृत पाँच अर्ब ४० करोड सेयरको चुक्ता मूल्य पाँच खर्ब ३० अर्ब ६२ करोड रहेको छ ।