काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशले लामो समयदेखि चुनौतीको रुपमा झेलेको व्यापार घाटाको नियमित वृद्धिमा हाल नियन्त्रण हुँदै गएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पाँचौँ वार्षिक साधारणसभा र उद्योग वाणिज्य दिवस कार्यक्रममा उनले अब यो क्रमशः कम हुँदै जाने बताए । व्यापार असन्तुलन घटाउनेतर्फ वर्तमान सरकार गम्भीर भएर लागेको उनको भनाइ थियो । व्यापार घाटा घटाउन उल्लेखनीय सफलता प्राप्त नभए पनि त्यसमा क्रमिक सुधार आएको उनले बताए । सरकारले उद्योग व्यवसायलाई अघि बढ्न बाधा पार्ने कानुनी प्रावधान र विलम्बकारी प्रशासनिक प्रक्रियालाई समेत बदल्ने उनको भनाइ छ । उनले मुलुकमा व्यापारको वातावरण बनेकाले ढुक्क भएर औद्योगिक विकासमा लाग्न उद्यमी व्यवसायीलाई आह्वान गरे । उद्योग वाणिज्य क्षेत्रमा हड्तालजस्ता समस्या समाधान गरिएको र सबैभन्दा महत्वपूर्ण कुरा नेपालबाट अब हिंसाको राजनीति समाप्त भएको उनले बताए । उद्योग वाणिज्यका हिसाबले भन्ने हो भने योभन्दा अनुकूल वातावरण अरु हुन नसक्ने उनको भनाइ थियो । साथै उनले सरकार व्यवसायी, मजदुरलाई एकअर्को प्रतिद्वन्द्वी समूह हुन् भनेजस्तो अवस्थामा अहिले निकै सुधार भएको बताए । ‘अझै पनि केही समस्या छन् भने भन्नुहोस् सँगै बसेर समाधान गरौं । सरकारलाई खास कुरा केन्द्रित गरेर बुँदागत नै दिनुहोस्’, उनले भने । आफ्नो व्यवसायमा परेको प्रशासनिक बाधा व्यवधान छन् भने लेखेर दिन पनि प्रधानमन्त्रीले व्यवसायीहरुलाई आग्रह गरे । प्रधानमन्त्री ओलीले वैदेशिक लगानीका रुपमा ठूलो धनराशी मुलुकमा भित्रियोस् भन्ने उद्देश्यले सरकारले न्यूनतम वैदेशिक लगानीमा सीमा तोकेको स्पष्ट गर्दै खुद्रा लगानीबाट समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार तुल्याउन कठिन हुने बताए । उनले प्राविधिक र वित्तीय रुपमा सुदृढ उद्योग व्यवसायबाट नै आर्थिक समृद्धिको लक्ष्य हासिल हुने विचार व्यक्त गर्दै देश विकासको बाटोमा अग्रसर हुन उद्योग व्यवसायी मात्र नभई हरेक पेशा र व्यवसायका व्यक्ति अघि बढ्नुपर्नेमा जोड दिए । संयुक्त राष्ट्रसंघले निर्धारण गरेका दिगो विकासका लक्ष्य हासिल गर्न सरकार लागिपरेको र त्यस निम्ति दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न जरुरी भएको बताउँदै उनले वर्तमान सरकार स्पष्ट दृष्टिकोण र मार्गचित्र तयार गरी अघि बढिरहेको बताए । रोजगारीका अवसर सृजना, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी–व्यवसायीलाई आह्वान गर्दै उनले लगानीकर्तालाई पनि उत्पादकत्व वृद्धिका निम्ति अभिप्रेरित गर्न अनुरोध गरे । कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले स्वागत मन्तव्यका क्रममा उद्योगी–व्यवसायीले व्यहोर्नुपरेका कठिनाइसम्बन्धी गुनासोको जवाफमा प्रधानमन्त्रीले त्यस्ता व्यवधान चिरेर छाड्ने दृढता बताए । कोरोना भाइरस पुनः प्रकट भएकामा गम्भीर चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सबैलाई सचेत रहन तथा सावधानी अपनाउन आग्रह गरे । उनले गत एक वर्ष अवधिमा कोभिड १९ ले पारेको बाधाले समृद्धि प्राप्तिको रफ्तार घटेको बताए । अब पनि कोभिडलाई सावधानीपूर्वक सामना गर्नुबाहेक अरु उपाय प्रभावकारी नभएको बताउँदै उनले भने, ‘सावधानी भएन भने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने के ग्यारेन्टी ?’ छिमेकी मुुलुक भारतमा एकै दिन डेढ लाख जनामा कोरोना संक्रमण भएको उल्लेख गर्दै उनले आफ्ना उद्योग व्यवयाय अनुशासित ढंगले चलाउन पनि आग्रह गरे । कार्यक्रममा उनले महासंघको प्रकाशन ‘राष्ट्रिय आर्थिक रुपान्तरण–२०३०’ पुस्तक सार्वजनिक गर्नाका साथै निर्यात व्यापार, पर्यटन, निर्माण, उत्पादनका क्षेत्रमा योगदान गरेका उद्योगीहरुलाई सम्मान पनि गरे । कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रमा करिब ७० प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने सरकारको लक्ष्यलाई हरतरहले साथ दिइरहेको बताउँदै आर्थिक रुपान्तरणका कार्यक्रमहरुलाई कार्यान्वयन गर्न सरकारी स्तरबाट पनि सहयोग हुनुपर्नेमा जोड दिए । अर्थतन्त्रमा २२ प्रतिशत योगदान गरेको र २० लाख जनालाई रोजगारी उपलब्ध गराइरहेको साना तथा मझौला उद्योगका समस्या समाधानका साथै औद्योगिक उन्नयनका निम्ति निजी क्षेत्रले सरकारी सहयोगको अपेक्षा गरेको उनले बताए । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पूर्वाधारको क्षेत्रमा लगानी बढाउन सके आर्थिक विकासमा टेवा पुग्ने भन्दै उनले अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्नुपर्ने बताए । नेपाललाई समुन्नत राष्ट्रमा रुपान्तरण गर्न एक/दुई वर्षको परिश्रमले नपुग्ने भएकाले त्यसका लागि एक दशककै दृष्टिकोण, प्रष्ट योजना र प्रभावकारी कार्यान्वयन आवश्यक भएको उनको भनाइ थियो ।