काठमाडौँ ।
राष्ट्रिय बीमा संस्थान र नेपाल क्लियरिङ हाउसबीच सम्झौता भएको छ । संस्थानले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्नसक्ने गरी सम्झौता गरेको हो ।
सम्झौतामा संस्थानका तर्फबाट प्रशासक कवि प्रसाद पाठक र क्लियरिङ हाउसकातर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । संस्थानले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई बैंकको माध्यमबाट नेशनल पेमेन्ट इन्टरफेसमार्फत इपेमेन्ट प्रणालीसँग जोडिएपछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगानीलगायतका विभिन्न कारोबार बैंक खाताहरूबाट सोझै गर्न सक्नेछ ।
यसका अतिरिक्त संस्थानका बीमितहरूले आफ्नो (प्रिमियम) बीमाशुल्क पनि अनलाइनमार्फत कनेक्ट आईपीएस ई–पेमेन्टबाट वा पाँच हजारभन्दा बढी बैंक शाखाहरूबाट र एनसीएचएलसँग आबद्ध बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरूको च्यानलहरूमार्फत पनि तिर्न सक्नेछन् । यी सबै कारोबारहरू सोझै संस्थान तथा लाभग्राहीका बैंक खाताहरूबाट हुने संस्थानले जानकारी दिएको छ ।