नयाँ दिल्ली ।
भारतमा कोरोनाभाइरसबाट एकै दिन झण्डै डेढ लाख संक्रमित भएका छन् । यो संख्या कोरोनाभाइरस महामारी सुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट एक लाख ४५ हजार तीन सय ८४ जना संक्रमित भएका हुन् । यसअघि अघिल्लो एकै दिनमा एक करोड ३२ लाख पाँच हजार नौ सय २६ जना कोरोनाभाइरसबाट संक्रमित भएका थिए ।
सरकारी अधिकारीहरुले सोही अवधिमा भारतमा देशभर कुल सात सय ९४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या दश लाख ४६ हजार छ सय ३१ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार मात्रै ७७ हजार पाँच सय ६७ जना कोरोनाभाइरस मुक्त भएका छन् भने अहिलेसम्म कोरोनाभाइरस मुक्त भएकाहरुको सङ्ख्या एक करोड १९ लाख ९० हजार आठ सय ५९ रहेको छ । (रासस/एएनआई)