कोलम्बो ।
स्थानीय नयाँ वर्ष मनाउदा कोरोना भाइरसबाट जोगिनका लागि स्वास्थ्य मापदण्ड ख्याल गर्न श्रीलंकाका सेना प्रमुखले आह्वान गरेका छन् । कोरोनाभाइरसको महामारी फैलिँदै गइरहेका बेला श्रीलंकामा नयाँ वर्ष मनाउन लागिएकाले ख्याल गर्न सेना प्रमुख शभेन्द्र सिल्भाले सोमबार आह्वान गरेका हुन् ।
कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि राष्ट्रिय कार्यदलका प्रमुखसमेत रहेका सिल्भाले नयाँ वर्ष मनाउने नाममा होस् नपु-याउँदा ठूलो क्षति हुनेतर्फ सबैको ध्यानाकर्षण गराएका छन् । उनले स्थानीय नयाँ वर्ष मनाउने बेलामा अपनाउनुपर्ने आठ निर्देशिका सरकारले जारी गरेको उल्लेख गर्दै त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
घरबाट बाहिर निस्केपछि पूरै समय सबैले मुखमा मास्क लगाउनुपर्ने, भीडभाडमा जानु नहुने, आफूले पनि भीडभाड गर्न नहुने निर्देशिकामा उल्लेख गरिएको छ । त्यसैगरी सामाजिक दूरी कायम गर्नुपर्ने, हातमा सेनिटाइजर लगाइरहनुपर्ने वा साबुनपानीले निरन्तर हात धोइरहनुपर्नेलगायतका मापदण्ड पनि निर्देशिकामा समावेश गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
श्रीलंकामा आगामी मङ्गलबार र बुधबार सिन्हाला र तमिल नयाँ वर्ष मनाइँदै छ । नयाँ वर्ष मनाउने क्रममा शुभकामना आदानप्रदान गरिने, एकै ठाउँमा धेरै जना भेला हुने, नाचगान गरिने, सँगसँगै खानपिन गरिनेलगायतका गतिविधि गरिने भएकाले सतर्कता बढी अपनाउन अधिकारीहरुले आग्रह गरेका हुन् ।
श्रीलंकामा कोरोनाभाइरसका कारण अहिलेसम्म ९५ हजार एक सय ३१ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये दुई हजार नौ सय दुई जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने पाँच सय ९८ जनाको मृत्यु भइसकेको छ । (आर्थिक दैनिकबाट)