बेइजिङ ।
गत मार्च महिनामा चीनको आयात र निर्यात दुवै बढेको छ । मंगलबार सार्वजनिक विवरणमा अमेरिकापछि विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले कोभिड–१९ लाई नियन्त्रणमा लिएसँगै अर्थतन्त्रमा निरन्तर सुधार आएको देखिएको छ । एएफपीका अनुसार पछिल्ला दिनहरूमा मुख्य विदेशी बजारहरूमा चिनियाँ सामानको माग बढेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।
कोरोनाभाइरस विरुद्धको खोपको प्रभाव र कोभिडविरुद्धका प्रतिबन्धहरू खुकुलो बनाएसँगै चिनियाँ अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको र आगामी केही महिना यही स्थिति रहने चीनको भनाइ छ । चीनको आयातमा पूर्वानुमान गरेझैँ अघिल्लो वर्षको तुलनामा ३८.१ प्रतिशतले वृद्धि भएको छ । यसै वर्षको जनवरी र फेब्रुअरीमा २२.२ प्रतिशतले आयातमा वृद्धि भएकामा गत मार्च महिनामा सन् २०१७ फेब्रुअरीयताकै यो सबैभन्दा ठूलो वृद्धि हो ।
निर्यातमा पनि ३०.६ प्रतिशतले वृद्धि भएको छ र यो सन् २०१८ यताकै सबैभन्दा बढी हो । यद्यपि ब्लुमबर्गले चीनको निर्यात ३८ प्रतिशतले वृद्धि हुने पूर्वानुमान गरेको थियो । चिनियाँ भन्सार प्रशासनको तथ्याँकमा चीनको समग्र व्यापार बचत १३.८ अर्ब डलर रहेको उल्लेख छ । संयुक्तराज्य अमेरिकासँगको व्यापार बचत पनि अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले वृद्धि भई २१.४ अर्ब डलर पुगेको छ ।