काठमाडौं ।
ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालक पदमा प्रकाश कुमारी श्रेष्ठ र विश्वमोहन अधिकारी निर्वाचित भएका छन् । बैंकको यही चैत २८ गते सम्पन्न भएको आठौं वार्षिक साधारणसभामा सर्वसाधारण सेयरधनी समूहको प्रतिनिधित्व गरी श्रेष्ठ र लेकसिटी होल्डिङ्स प्रालिका प्रतिनिधि अधिकारी सञ्चालक पदमा निर्विरोध निर्वाचित भएको बैंकले जानकारी दिएको छ ।
बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २९ लाख ४४ हजार ७३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक करोड चार लाख २० हजार एक सय ६७ रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ३४ करोड ४४ लाख ४६ हजार सात सय ६६ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४० करोड ७४ लाख एक हजार आठ सय १३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड ९० लाख २५ हजार दुुई सय ५२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ५५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ९९ प्रतिशत रहेको छ ।
बैंकले गत आवको सोही अवधिमा भने एक अर्ब ३१ करोड ६८ लाख ५० हजार दुुई सय ४८ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १३ करोड ५६ लाख ६८ हजार छ सय ५४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड २४ लाख ८८ हजार एक सय ३६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ११ प्रतिशत रहेको थियो ।