ढाका ।
बंगलादेशका उच्च सरकारी अधिकारीले लकडाउनको म्याद फेरि थप गरिएको घोषणा गरेका छन् । कोरोनाभाइरसको महामारीको दोस्रो लहर थप बढ्दै गएकाले लकडाउनको म्याद फेरि बढाउनुपरेको अधिकारीहरूको भनाइ छ । बङ्लादेशका सार्वजनिक प्रशासन राज्यमन्त्री फर्हाद हुसेनले अप्रिल २२ देखि २८ सम्म पनि लागू हुने गरी लकडाउनको म्याद थपिएको जानकारी दिए ।
बङ्लादेशमा यसअघि यही अप्रिल १४ देखि २१ सम्म एक हप्ते लकडान घोषणा गरिएको थियो । लकडाउनसँगै भीडभाड गर्न नपाइने, अत्यावश्यक काम विना घर बाहिर निस्किन नपाइने, सामाजिक दूरी अनिवार्य कायम गर्नु पर्नेलगायतका केही व्यवस्थाहरूमा पनि कडाइ गरिएको छ ।
बङ्लादेशमा कोरोनाभाइरसबाट अहिलेसम्म सात लाख २३ हजार दुई सय २१ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये १० हजार चार सय ९७ जनाको मृत्यु भएको छ भने छ लाख २१ हजार तीन सय संक्रमणमुक्त भएका छन् ।