नयाँँ दिल्ली ।
भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड ५० लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । सो मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार कोरोना सुरु भएयता भारतमा हालसम्म एक करोड ५० लाख ६१ हजार नौ सय १९ जना कोरोना संक्रमित भएका छन् ।
भारतमा कोरोनाभाइरसबाट एकै दिनमा दुई लाख ७३ हजार आठ सय १० संक्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा भारतमा एक हजार छ सय १९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको सोमबार जनाइएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाभाइरसबाट कुल मृतकको संख्या एक लाख ७८ हजार सात सय ६९ पुगेको देखिएको छ ।
भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने १९ लाख २९ हजार पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा एक लाख २८ हजार १३ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ । योसँगै अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या एक करोड २९ लाख ५३ हजार आठ सय २१ पुगेको छ ।
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १२ करोड ३८ भन्दा लाख व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिरहेको छ ।
भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुतनिक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायहरुले जनाएका छन् । रुसले विकास गरेको स्पुतनिक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतमा आइतबार मात्रै १३ लाख ५६ हजार एक सय ३३ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल १९ सम्म कुल २६ करोड ७८ लाखभन्दा बढीले कोरोना परीक्षण गरिएको पनि परिषदले उल्लेख गरेको छ ।
भारतको राष्ट्रिय राजधानी दिल्ली सबैभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा आइतबार एकै दिनमा २५ हजार पाँच सय जना कोरोना भाइरस संक्रमित भएका एक सय ६१ जनाको मृत्यु भएको छ । (रासस/एएनआई)