अमेरिका ।
हार्ले डेभिडसन इन्कले आफ्नो पूर्णवर्षीय बिक्री बढ्ने अनुमान प्रक्षेपण गरेको छ । कम्पनीले महंगा टुरिङ मोटरसाइकलको बिक्री बढ्ने बताएको हो । उसले कम नाफा दिएका बजार कटौती समेत गरिरहेको छ । सोमबारको प्रक्षेपणसँगै कम्पनीको सेयर १५ प्रतिशतले बढेको रोयटर्सले जनाएको छ ।
अमेरिकी राज्य विस्कन्सिनको मिलौकीमा रहेको कम्पनीले चालू वर्षको पहिलो त्रैमासिकमा डिलरशिपको मागसँगै खुद्रा बिक्री ३० प्रतिशतले बढेर ३२ हजार आठ सय मोटरसाइकल उत्तर अमेरिकामा बिक्री भएको समेत जनाएको छ । यो छ वर्षयताको पहिलो वृद्धि हो ।
गत वर्षको मध्यदेखि कम्पनीले आफ्नो रणनीति परिवर्तन गरेको छ । उसले ठूला मोटरसाइकल र परम्परागत बजारहरु अमेरिका, युरोपका साथै धनी ग्राहककेन्द्रित भएको समेत जनाएको छ । गत फेब्रुअरीमा कम्पनीले नयाँ योजना ल्याउँदै दोहोरो अंकको आम्दानी वृद्धिदर सन् २०२५ सम्म हासिल गर्ने जनाएको थियो ।
हार्लेको दोस्रो ठूलो बजार युरोपमा खुद्रा बिक्री ३६ प्रतिशतले घटेर चार हजार नौ सय वटामा झरेको जनाइएको छ । कम्पनीले कम नाफा दिने स्थानमा बिक्रीवितरण रोक्ने योजनाले युरोपको बजार खस्किएको हुनसक्ने बताइएको छ । त्यस्तै जुनबाट युरोपेली संघले लगाएको थप करसम्बन्धी व्यवस्थाले मागमा असर गरेको छ । नयाँ कर थपिँदा हार्लेले ५६ प्रतिशत कर तिर्नुपर्नेछ ।
यसका बाबजुद हार्लेले सन् २०२१ को मोटरसाइकल व्यवसायको आम्दानी ३० देखि ३५ प्रतिशतले बढ्ने बलियो अनुमान पेस गरेको छ । यसअघि उसले २० देखि २५ प्रतिशतसम्म बढ्ने अनुमान गरिएको थियो । मार्च २८ मा सकिएको त्रैमासिकमा हार्लेले प्रतिसेयर आम्दानी १.६८ प्रतिशत गरेको थियो । जुन विश्लेषकको औसत अनुमान ८८ सेन्ट प्रतिसेयर आम्दानीभन्दा धेरै हो । कम्पनीको राजस्व समेत एक अर्ब ३० करोड डलरबाट बढेर एक अर्ब ४२ करोड अमेरिकी डलर पुगेको छ ।