काठमाडौं ।
नेपाल पत्रकार महासंघले कोभिड–१९ बाट प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई राहतका कार्यक्रम ल्याउन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । महासंघको नवनिर्वाचित पदाधिकारीहरूले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी पत्रकार र मिडियाका समस्यालाई सम्बोधन गर्नेगरी बजेट ल्याउन आग्रह गरेका हुन् । महासंघका अध्यक्ष विपुल पोख्रेलले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनालाई विशेष प्राथमिकता दिन अनुरोध गरे । उनले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनाले पत्रकारको क्षमता अभिवृद्धिका साथै व्यावसायिक र मर्यादित हुन थप सहयोग पुग्ने बताए ।
वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारहरूलाई प्रत्यक्ष लाभ पुग्ने कोभिडबाट अतिप्रभावित पत्रकारहरूलाई थप लेखन वृत्तिको व्यवस्था गर्न जरुरी रहेको बताए । यस्तै महासचिव रोशन पुरीले पत्रकार कल्याकारी कोषको स्थापना र जेष्ठ पत्रकार सम्मान वृत्तिलाई सम्बोधन गर्न आग्रह गरे । उनले श्रमजीवी पत्रकारका समस्या समाधानमा सरकारको सहयोगको अपेक्षा गरे । पत्रकार महासंघका पदाधकारीहरूले पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्न, नेपाल पत्रकार महासंघको भवनमा पूर्वाधार बढाउनलगायतमा सहयोग गर्न पनि आग्रह गरेका थिए ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रेस स्वतन्तत्राको प्रवर्द्धन र व्यावसायिक पत्रकारिताको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने बताए । उनले आलोचना र प्रश्नहरू लोकतन्त्रका सुन्दर पक्षहरू रहेको भन्दै तथ्यलाई विशेष ध्यान दिन आवश्यक भएको धारणा राखे । अर्थमन्त्री पौडेलले महासंघका पदाधिकारीले राखेका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताए । (आर्थिक दैनिकबाट)