टोरन्टो पुस २८
क्यानडाको ओन्टारियो प्रान्तको आणविक ऊर्जा केन्द्रले आइतबार बिहान गल्तीले आपतकालीन चेतावनी जारी भएको स्थानीय विद्युत् उत्पादन प्राधिकरणले जनाएको छ । ‘स्टेसनमा एक ‘घटना’ भएको जानकारी आएको थियो जसले १० किलोमिटर वरपरका मानिसहरूका लागि लागु हुने गरी आपतकालीन सूचना प्रसारण ग-यो’, प्रान्तीय सरकारले स्थानीय समयअनुसार बिहान ७ः३० बजे जारी गरेको सूचनामा बताइएको छ ।
प्रारम्भिक समाचारमा ‘स्टेसनबाट रेडियो विकिरणको कुनै पनि असामान्य चेतावनीलाई अस्वीकार गर्दै नागरिकहरूले यस समयमा कुनै पनि सुरक्षात्मक कार्यहरू गर्नु नपर्ने जनाइएको छ । आपतकालिन समेतको सूचनापछि ओन्टारियो विद्युत् उत्पादन प्राधिकरणले तुरुन्तै ट्विट गर्दै लेख्यो, ‘पिकरिंग न्युक्लियर’ चेतावनी त्रुटिवश पठाइएको हो र सार्वजनिक जीवन वा वातावरणमा यसको कुनै खतरा हुने छैन ।’ सन् १९७१ मा स्थापना गरिएको ‘पिकरिङ प्लान्ट’ टोरन्टोको सहरबाट ५० किलोमिटर पूर्वमा ओन्टारियो तालको किनारमा अवस्थित छ । उक्त क्षेत्रमा करिब ३० लाख जनसंख्या रहेको छ ।