वासिङटन ।
रगत जम्ने खतरा देखिएको विवरणहरूपछि अमेरिकामा जोन्सन एण्ड जोन्सनको खोपमा लगाइएको प्रतिबन्ध शनिबारदेखि हटाइएको छ । अमेरिकामा कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपबारे आएका नकारात्मक समाचारपछि उक्त खोप प्रयोगमा रोक लगाइएको थियो । अमेरिकी ‘फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन’ले उक्त खोपमाथिको ११ दिनदेखिको प्रतिबन्ध हटाएको हो ।
जोन्सन एण्ड जोन्सनको खोप लगाएका करिब ८० लाखबाट १५ जनामा गम्भीर प्रकारको रगत जम्ने समस्या देखिएपछि गत अप्रिल १४ देखि खोप प्रयोगलाई स्थगित गरिएको थियो । समस्या देखिएका सबै ५० वर्षमुनिका महिला रहेका र उनीहरुमध्ये तीन जनाको मृत्यु भएको थियो । युरोपियन औषधि नियामक निकायले पनि यही हप्ता जोन्सन एण्ड जोन्सनको खोपमाथिको प्रतिबन्ध हटाएको थियो ।
अमेरिकामा प्रतिबन्ध फुकुवासँगै नेदरल्याण्ड्समा रहेको कम्पनीको फ्याक्ट्रीबाट कम्तीमा एक करोड खोपको मात्रा तत्कालै अमेरिका पठाइने पनि जोन्सन एण्ड जोन्सन कम्पनीले जनाएको छ । अमेरिकामा जोन्सनको खोपको प्रयोगबाट हुने हानि अत्यधिक कम भएको र यसबाट लाभ लिनेको संख्या धेरै भएकोले खोप रोक्न नहुने निष्कर्ष निकालिएको अमेरिकी ‘फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन’ले उल्लेख गरेको छ । (आर्थिक दैनिकबाट)