काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले कृषकहरूलाई आधुनिक बैंकिङ सुविधाका लागि प्रोत्साहन गर्ने नीति लिएको छ । नेपालको अर्थतन्त्रको अभिन्न अंगका रूपमा रहेका कृषकहरूलाई आधुनिक बैंकिङ सुविधाको प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले क्यूआर कोड सुविधालाई तीव्रताका साथ विस्तार गरिरहेको हो । यसैक्रममा कृषि क्षेत्रमा डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्न मेगाले ललितपुरको कुसुन्तीस्थित सांग्रिला एग्रो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ ।
सम्झौताअनुसार, मेगा बैंकले सांग्रिला एग्रोले कुसुन्तीमा सुरु गर्न लागेको तरकारी तथा फलफूल बजारसँग आबद्ध सबै कृषि उत्पादक तथा बिक्रेतालाई बैंकिङ सुविधा तथा कर्जा सुविधा प्रदान गर्नेछ । यसका साथै, सांग्रिला एग्रोसँग आबद्ध कृषक र बिक्रेताहरूलाई निःशुल्क क्यूआर कोडको व्यवस्था गरिनेछ भने क्यूआर कोड प्रयोग गरी तरकारी तथा फलफूल खरिद गर्ने ग्राहकहरूलाई १० प्रतिशतसम्म छुट अथवा बढीमा पाँच सय रुपैयाँसम्म छुटको व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।
यससम्बन्धी सम्झौतापत्रमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र सांग्रिला एग्रोका अध्यक्ष गणेशबहादुर सुवेदीले हस्ताक्षर गरेका हुुन् ।
केही दिनअघि मात्रै मेगा बैंकले काठमाडौँ उपत्यका र आसपासका गोलभेँडा उत्पादक कृषकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्मा समूहसँग सम्झौता गरेको थियो भने जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफूल बजारसँग आबद्ध तरकारी व्यवसायी र तरकारी बिक्रेतालाई क्यूआर कोड वितरण गरेको थियो । नेपालको आधारभूत तहमा रहेका कृषकहरूलाई आधुनिक बैंकिङतर्फ आकर्षित बनाउन सके बैंकिङ सेवाको विस्तारले पनि तीव्रता पाउने विश्वास बैंकले लिएको छ ।