काठमाडौं ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धु्रव प्रसाद कँडेललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । सीआईबीकी प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले बैंकिङ कसुरको अभियोगमा धादिङ्गको साविक बेनीघाट गा.वि.स. वडा नं.८ बाहुनटार परिवर्तित बेनीघाट रोराङ गाउँपालिका वडा नं.५ घर भएका ४५ वर्षीय कँडेललाई आइतबार काठमाडौंको नक्सालबाट पक्राउ गरेको जानकारी दिइन् ।
प्रकाश न्यौपानेले कँडेलविरुद्ध जाहेरी दिएका थिए । सरकारले उनीविरुद्ध उच्च अदालत पाटनमा बैंकिङ कसुर मुद्दा हालेकोमा अदालतले २०७७ मंसिर १९ गते फैसला गर्दै कँडेललाई सात दिन कैद र १२ लाख ५० हजार रुपैयाँ जरिवाना हुुने ठहर गरेको थियो । तर कँडेल फरार रहँदै आएका थिए । सोही क्रममा उनलाई सीआईबीबाट खटिएको प्रहरी टोलीले आइतबार काठमाडौंको नक्सालबाट पक्राउ गरेको प्रवक्ता पन्तले बताइन् । कँडेललाई फैसला कार्यान्वयनको लागि आइतबार नै काठमाडौं जिल्ला अदालतमा पठाइएको छ ।
प्रतिवादी कँडेलले २०७५ भदौ १० गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय गजुरीमा रहेको निजको नामको खाताबाट भुक्तान हुने गरी जाहेरवाला प्रकाश न्यौपानेलाई १२ लाख ५० हजारबराबरको चेक काटी दिएकोमा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५(१) बमोजिम सात दिन कैद र १२ लाख ५० हजार रुपैयाँ जरिवाना हुने गरी फैसला गरेको थियो ।