काठमाडौं ।
काठमाडौं उपत्यकामा यही वैशाख १६ गते बिहीबारदेखि २२ गते बुधबार राति १२ बजेसम्मका लागि पहिलो चरणको निषेधाज्ञा हुने भएको छ । गत वर्ष पनि पहिलोपटक यसैगरी एक साताका लागि गरिएको लकडाउन पटक–पटक लम्ब्याउँदै लगेर झण्डै तीन महिना पु-याइएको थियो । यस वर्ष पनि पहिलोपटकका लागि एक साताका लागि निषेधाज्ञा लगाइएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा प्रवेश गर्ने नाका पूर्णतः बन्द गर्ने निर्णय गर्दै उपत्यकामा पनि के–के सञ्चालन गर्ने र के–के बन्द गर्ने भनेर निर्णय गरेका हुन् । निषेधाज्ञाको कारण दैनिक काम गरी खाने वर्गका नागरिकको सबैभन्दा ठूलो बिचल्ली हुने देखिएको छ । गत सालको जस्तै लकडाउन लम्बिने हो भने रोगले भन्दा भोकले नागरिकको ज्यान जाने देखिन्छ ।
स्वास्थ्य मापदण्ड कडाइको साथ पालना गराउनुको साथै भारत र अन्य देशबाट नेपाल प्रवेश गर्न पूर्णतः प्रतिबन्ध लगाउनुपर्नेमा सरकारले त्यसको ठीक उल्टो काम गरेको छ । सरकारले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न दिने र भारतबाट नेपाल प्रवेशमा पनि प्रतिबन्ध नलगाई देशभित्रकै काममा प्रतिबन्ध लगाएको छ । यसले आम नागरिकमा असन्तुष्टि बढेर निषेधाज्ञा बीचमै तोडिने प्रबल सम्भावना छ ।
निषेधाज्ञा लगाए पनि गत वर्ष स्वास्थ्य मापदण्ड लागू हुन नसकेको कारण कोरोना संक्रमण तीव्र रुपमा बढेको थियो । अहिले कोरोना सल्किइसकेपछि स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने घोषणा गर्नाले विगतको जस्तै कोरोना संक्रमणले तीव्रता पाउने सम्भावना देखिएको छ ।
स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा कुनै पनि सार्वजनिक र निजी सवारीसाधन सञ्चालन गर्न नदिने घोषणा गरेको छ । त्यस्तै, उद्योग, कलकारखाना पनि बन्द गर्ने जनाएको छ । यसले आम नागरिकको दैनिकीमा प्रत्यक्ष प्रभाव पार्ने पक्का भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइनेछैन । विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्रै गर्न सकिनेछ ।
सार्वजनिक एवम् निजी सवारीसाधन वैशाख १६ गते बिहान ६ देखि २२ गते राति १२ बजेसम्म काठमाडौँ उपत्यकाभरमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारीसाधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारीसाधन प्रवेशमा रोक लगाइएको छ ।
सरकारी कार्यालयलगायतका सार्वजनिक सेवाप्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिई सवारीसाधन प्रयोग गर्न पाइने आदेशमा उल्लेख छ । विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा आधिकारिक सवारी पास लिएर मात्रै सञ्चालन गर्न पाइनेछ ।
खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसायबाहेकका अन्य व्यवसाय हाललाई बन्द गर्ने र खाद्य सामग्री पसल बिहान १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ला राख्न पाइनेछ । ती पसल सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपले पालना गराउनुपर्नेछ ।
नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न दिने, काठमाडौँ उपत्यका प्रवेश गर्ने व्यक्तिको अनिवार्य रूपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नुपर्नेछ । यस्तै, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । साना बालबालिकामा पनि कोरोना देखिन थालेपछि सरकारले उक्त निर्णय गरेको हो ।
त्रिविका सबै परीक्षा स्थगित : त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगन गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय केन्द्रीय परीक्षा सञ्चालन समितिको सोमबार बसेको बैठकले मङ्गलबारदेखि हुने सबै परीक्षा स्थगन गरेको हो । वातावरण सहज भएपछि परीक्षा सञ्चालन गरिने त्रिविले जनाएको छ ।
त्रिविको वार्षिक परीक्षाअन्तर्गत स्नातक तह र स्नातकोत्तर तह दोस्रो वर्षका परीक्षा सञ्चालन भइरहेका थिए । यही वैशाख १९ गतेसम्म सञ्चालन हुने परीक्षाअन्तर्गत मानविकी, शिक्षा र विज्ञान सङ्कायका केही विषय मात्र बाँकी थिए । यस्तै वैशाख १९ गतेदेखि स्नातकोत्तर तहको सेमेष्टरअन्तर्गतका परीक्षासमेत सञ्चालन गर्ने पनिकाको तयारी थियो । यसअघि पनि गत वर्ष चैतमा कोभिड–१९ का कारणले परीक्षा स्थगन गरिएका थिए । ती परीक्षा गत मङ्सिरदेखि निरन्तर सञ्चालन भइरहेका थिए ।
पत्रकार र पत्रकारको सवारीसाधनलाई छुट्ट्रै पास लिनु नपर्ने
काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकामा सञ्चारकर्मी र पत्रकारहरुलाई सूचना विभागले जारी गरेको प्रेसपास देखाएर समाचार संकलनका लागि हिँड्डुल गर्न दिने भएको छ ।
पत्रकारले समाचार संकलन गर्न प्रयोग गर्ने सवारीसाधनको लागि पनि छुट्टै पास कतैबाट पनि लिनुपर्नेछैन । सूचना विभागले प्रेसपास जारी गर्दा नै धेरै कडाइ गरेको कारण स्थानीय प्रशासनले पत्रकार र उनीहरुको सवारीसाधनको लागि छुट्टै पास लिनु नपर्ने व्यवस्था गरेको हो । त्यस्तै, अत्यावश्यकबाहेकका सबै सार्वजनिक सेवा हाललाई स्थगन गरिएको छ । (आर्थिक दैनिकबाट)