विराटनगर ।
विराटनगर भन्सारका एजेण्टदेखी भन्सार एजेन्टका प्रतिनिधि र भन्सार अधिकृतका बीचमा सहमती भएर भन्सार जाँचपास गरिएको विभिन्न सामग्री सहितको गाडी राजश्वले नियन्त्रणमा लिएको छ ।
विराटनगर भन्सारबाट जाँच पास भएको दुई ट्याकटर सामान सहितको गाडी मोरङ प्रहरीले राजश्व छली भएको आसंक्कामा नियन्त्रणमा लिएपछि विराटनगर भन्सारका कर्मचारीसँगको मिलेमत्तोमा नै राजश्व छली हुने गरेको तथ्य खुल्न पुगेको छ ।
प्रहरीले पक्राउ गरेको उक्त सामान र सामान लोड भएको ट्याकटर आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय सुनसरीको इटहरीमा बुझाएको छ । प्रहरीले राजश्व छली भएको आसंक्कामा पक्राउ गरी राजश्वमा बुझाएको उक्त सामान विराटनगर भन्सारका भन्सार एजेन्ट चेतनाथ पौडेल र भन्सार प्रतिनीधि अरविन्द ठाकुरले भन्सार जाँचपास गरेको भन्सारस्रोतले बताएको छ ।
स्रोतका अनुसार प्रहरीले पक्राउ गरी राजश्वमा बुझाएको ट्याक्टर सहितको सामानमा भन्सार अधिकृत सन्तोष यादवले भन्सार जाँचपासका लागि भन्सार प्रज्ञापनपत्रमा हस्ताक्षर गरेको फेला परेको छ । भन्सार कर्मचारीसँगको मिलेमतोमा दुवै भन्सार एजेन्टबाट उक्त सामान विराटनगरका लागि पठाएको भन्सार एजेन्ट कै स्रोतले बताएको छ । जसले गर्दा भन्सार एजेन्टसँगै भन्सार अधिकृत यादव पनि विवादमा तानिएका छन् ।
कुनै पनि सामान भन्सार परिसरमा प्रवेश गरेपछि भन्सारको कागजी प्रक्रिया पुरा नगरी भन्सार परिसरबाट बाहिर निकाल्न नपाइने प्रष्ट कानुनी ब्यवस्था रहेको छ । स्रोतका अनुसार दुवै भन्सार एजेन्टले एउटै बिलविजकमा दोहोरो मालवस्तु भित्रयाउने उद्देश्यले र खुल्ला सीमाको फाइदा उठाउँदै कर्मचारी र भन्सार एजेन्टको सहमती मै प्रज्ञापनपत्रमा घोषणा गरिएको भन्दा बढी नै सामान भएको प्रहरी कै उच्चस्रोतले दावी गरेको छ ।
भन्सार आफैले जाँचपास गरेको सामानमा कर्मचारी स्वयंमको मिलोमत्तो देखिएमा भन्सार कार्यालयको समेत बद्नाम हुने भएकाले राजश्वले समेत प्रहरीले पक्राउ गरी बुझाएको उक्त समान जाँचमा सक्रियता नदिएको रहस्य समेत खुल्न पुगेको छ ।
भन्सार कर्मचारीसँगको मिलेमतोपछि भन्सार एजेन्टहरुले नै सामानको न्यून मूल्याङ्कन गर्ने देखीको काम विराटनगर भन्सारका कर्मचारीसँग गर्ने गरेको दावी गर्न थालिएको छ । स्रोतका अनुसार न्यून विजकीकरण गरेबापत भन्सार एजेन्टले विभिन्न सामानको तोकेरै भन्सारका तल्लो तहदेखि माथिल्लो तहका कर्मचारीलाई समेत कमिसन बुझाउने गरेको दावी गर्न थालिएको छ ।
भन्सार अधिकृत नै उक्त घट्नामा मुछिएपछि भन्सार एजेण्टमार्फत् प्रज्ञापन–पत्र र सम्पूर्ण कागजी प्रक्रिया मिलाएर राजश्वबाट जोगाउन अहिले चलखेल सुरु भएको खुल्न पुगेको छ । विगत लामो समयदेखि सबै क्षेत्रका अधिकारीहरूलाई नजराना थमाएर दैनिक निकै ठूलो परिमाणमा विराटनगर भन्सारबाट न्यून विजकीकरण गरिएका र भन्सार छलिएका सामान नक्कली प्रज्ञापन–पत्रको भरमा पूर्वका विभिन्न सहरसम्म पुर्याउने गरेको दावी स्रोतले गरेको छ । (आर्थिक दैनिकबाट)