काठमाडौ ।
आईएमई जनरल इन्स्योेरेन्स लिमिटेडले २३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले आइतबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो । विश्वव्यापीरूपमा फैलिरहेको कोभिड १९ को दोस्रो लहरको कारणले गर्दा नेपाल सरकारले २५ जनाभन्दा बढी व्यक्ति भेला भएर सभा सम्मेलन नगर्न सूचना जारी गरेको हुनाले हामीले विद्यमान प्रचलित जुमको माध्यामबाट कम्पनीको २३औं साधारणसभा अनलाइनरूपमा सञ्चालन गरेको हो । कम्पनीका अनुसार अध्यक्ष हेमराज ढकालको सभापतित्वमा वार्षिक साधारणसभा सम्पन्न गरिएको हो ।
सभामा अध्यक्ष ढकालले देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको छ भन्दै हाल बीमाका सम्बन्धमा जनमानसको सोचमा क्रमशः परिवर्तन भइरहेकोले आगामी दिनमा नेपाली बीमा बजार अझै फराकिलो हुनेछ भन्ने विश्वास लिएको बताए । हाल कुल बीमाको पहुँच २६ प्रतिशत रहेको छ भने समग्र बीमा क्षेत्रको कुल ग्रार्हस्थ्य उत्पादनमा योगदान तीन दशमलव चार प्रतिशत रहेको छ । बीमाको दायरामा वृद्धि भई व्यवसाय र मुनाफामा पनि क्रमशः वृद्धि हुनेछ भन्ने विश्वास लिएको उनले बताए ।
पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिस्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुँच विस्तार आदिले बीमा व्यावसाय वृद्धि, नाफामा वृद्धि भएबाट पुँजी बजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको छ । बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयाँ–नयाँ क्षेत्र पहिल्याई आम नागरिकलाई सहज सेवा प्रदान गर्ने हेतुले आगामी वर्षमा अझै नवीनतम सेवाहरूसहित ग्राहकमुखी भएर सन्तुष्ट ग्राहकहरूको संख्यामा वृद्धि गरी अगाडि बढ्ने लक्ष्य कम्पनीले लिएको जानकारी सभालाई गराए ।
कम्पनीको व्यवसायमा भएको विस्तारसँगै जोखिम धारण क्षमतामा समेत वृद्धिको लागि कम्पनीले चुक्ता पुँजी र नेटवर्थमा वृद्धि गर्न आवश्यक हुने हुनाले हालको चुक्ता पुँजीको सात प्रतिशतको दरले बोनस सेयर प्रदान गर्ने र सोपश्चात् कम्पनीको नियामक निकाय बीमा समितिबाट स्वीकृत भएपश्चात् जारी गर्नेगरी ४० प्रतिशतले हकप्रद सेयरको प्रस्ताव कम्पनीको २३औं साधारणसभाबाट पारित भएको छ भने उल्लिखित पुँजी वृद्धिसम्बन्धी विशेष प्रस्ताव स्वीकृति भएको हुनाले बोनस तथा हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ६२ करोड छ लाख २० हजार चार सय पुग्ने व्यहोरा ढकालले जानकारी गराए ।
त्यसैगरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीको २३औं वार्षिक साधारणसभामा सम्पूर्ण सेयरधनीहरूलाई स्वगात गर्दै कम्पनीले आफ्ना ग्राहकहरू, लगानीकर्ता, नियमनकारी निकायहरू र कर्मचारी साथीहरूको टिमको सहयोगबाट आज बीमा बजारमा एक अग्रणी कम्पनीको रूपमा स्थापित भइरहेको जानकारी गराए । यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा व्यक्त गरे । लगानीकर्ताहरूको भावना र सञ्चालक समितिको निर्देशनले अगाडि बढिरहेको र कम्पनीले क्रमशः आफ्नो स्थान अग्रिणी गर्दै गएकोमा निकट भविष्यमा नै पाचौँ स्थानमा कम्पनीलाई स्थापित गर्ने लक्ष्य रहेको पनि जानकारी गराए ।