ललितपुर, पुस २९
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको १९औं स्थापना दिवसको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत केन्द्रीय कार्यालय भरतपुर चितवनमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रमको अध्यक्षमा निमित्त प्रमुख कार्यकारी अधिकृत हेमकुमार काफ्ले र प्रमुख अतिथिमा भरतपुर महानगरपालिका १० का वडा अध्यक्ष अरुणपीडित भण्डारी रहेका थिए । कार्यक्रममा मुख्य प्रबन्धक हरिप्रसाद आर्चायले स्वागत मन्तव्य दिएका थिए भने कार्याक्रम सञ्चालन प्रबन्धक बुद्धिराज घिमिरेले गरेका थिए ।
रक्तदान कार्यक्रममा संस्थाको केन्द्रीय कार्यालयका कर्मचारीहरु, चितवन र नवलपरासी शाखा कार्यालयका कर्मचारीहरु तथा विभिन्न टोलसुधार समिति, संघसंस्था र व्यक्तिगतरुपमा उल्लेख्य व्यक्तिहरुको सहभागिता रहेको थियो । रक्तदान जीवनदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् । साथै संस्थाको स्थापना दिवसकै उपलक्ष्यमा कर्मचारीहरुमध्ये २०७५ सालको एसईई मा उत्कृष्ट अंक ल्याउने दुई/दुई जना छोराछोरीहरूलाई नगद पुरस्कार तथा प्रशंशापत्र वितरण गरिएको थियो ।