काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आरबीबी मोबाइल बैंकिङको महामेलाका बिजयीहरू घोषणा भएका छन् । बैंकले मोबाइल बैंकिङ प्रवर्द्धनको लागि २०७७ चैत ५ गतेदेखि २०७८ वैशाख ५ गतेसम्म (एक महिना) एफवान सफ्टको सहकार्यमा सञ्चालन भइरहेकोे आरबीबी मोबाइल बैंकिङ महामेलामा करिब ७३ हजार कारोबारबाट -यान्डम्ली छनौट भएका नौ जना विजयीहरूको नाम बुधबार एक समारोहका बीच घोषणा गरिएको छ ।
सो समारोहमा नयाँ मोबाइल बैंकिङ प्रयोगकर्ताहरूमध्येबाट स्वर्णिम पौडेलले थाइलैण्ड भ्रमणको कपल टुर (चार रात पाँच दिन) मेगा पुरस्कार प्याकेज पाएका छन् । यसैगरी तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ ग्यालेक्सी एमजिरो वान कोर ब्राण्डको एक एक थान मोबाइल फोन सेट पुरस्कार प्राप्त गर्ने भएका छन् ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नको लागि गत वर्षदेखि एफवान सफ्टको सहकार्यमा आरबीबी मोबाइल बैंकिङ महामेला कार्यक्रम सञ्चालन गरिरहेको छ । यसको लागि बैंकको मोबाइल बैंकिङबाट ग्राहकहरूले कारोबार गर्नुपर्ने हुन्छ । रा.वा.बैंकसँग खाता खोली मोबाइल बैंकिङबाट डिजिटल कारोबार गर्दा छुटलगायत उपहार पाउने व्यवस्था गरिएको छ ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, डिजिटल बैंकिङ विभागका विभागीय प्रमुख ऋषिराम ढकाल, एफवान सफ्टका यासमिन गौतम, अलिसा तन्डुकारलगायतको उपस्थिति रहेको थियो । हाल राष्ट्रिय वाणिज्य बैंकका १४ लाखभन्दा बढी मोबाइल बैंकिङका ग्राहकहरू रहेका छन् ।