कोलम्बो ।
श्रीलंकाले कोरोनाभाइरस (कोभिड–१९) महामारीलाई ध्यानमा राखी सोमबार बिहानदेखि लागू हुने गरी दुई साताका लागि हवाइ यात्रामा थप कडाइ गरेको छ ।
श्रीलंकाली हवाइ उड्डयन प्राधिकरणका अनुसार हवाइ यात्रा गर्दा विमानले एक पटकमा ७५ जनाभन्दा बढी यात्रु बोक्न पाइनेछैन । प्राधिकरणले सबै विमान कम्पनीहरुलाई सरकारको निर्णयबारे जानकारी गराइसकेको छ ।
दुई सातापछि मुलुकभित्र कोभिडको अवस्थाका बारेमा मूल्यांकन गरेपछि थप निर्णय लिइने प्राधिकरणले जनाएको छ । यसैबीच, श्रीलंकामा पछिल्ला दिनहरुमा कोरोनाभाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । आइतबार हालसम्मकै उच्च संख्यामा कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।
श्रीलंकाली स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार आठ सय जनामा कोरोना पुष्टि भएको छ । योसहित श्रीलंकामा कोरोनाभाइरसका संक्रमितको संख्या एक लाख १२ हजार पुगेको छ ।