नयाँ दिल्ली ।
भारतको दूरसञ्चार मन्त्रालयले दुई चिनियाँ प्रविधि कम्पनीलाई भारतमा फाइभजी परीक्षण गर्न नपाउने निर्णय गरेको छ । योसँगै हुवावे र जेटटीईलाई फाइभजी परीक्षणका लागि अनुमति नदिने भारत पछिल्लो राष्ट्र बनेको छ ।
मन्त्रालयले अरु दर्जन कम्पनीलाई भने फाइभजी परीक्षण अनुमति दिएको थियो । जसमा एरिक्सन, नोकिया र सामसङका नेटवर्क युनिटहरु छन् । उनीहरुले छ महिना फाइभजी प्रविधि परीक्षण गर्न पाएका थिए ।
परीक्षण गर्न नदिए पनि दुवै कम्पनीले फाइभजी सामग्री आपूर्तिकर्तालाई वितरण गर्न पाउने बताइएको छ । फोन प्रयोगकर्ताको हिसाबले भारत विश्वकै दोस्रो ठूलो बजार हो । सरकारी कम्पनी एमटीएनएलसँगै रिलायन्स इन्डस्ट्रिजको जियो इन्फोकम, भारती एयरटेल र भोडाफोन आइडियाले भने फाइभजी परीक्षण गर्ने भएका छन् ।
तर यी कम्पनीहरुले ग्रामीण र अर्धसहरी क्षेत्रमा यसको परीक्षण गर्नुपर्ने सरकारी प्रेस इन्फरमेसन ब्युरोले जनाएको छ । यता दिल्लीले भने चिनियाँ कम्पनीमाथि कुनै पनि आधिकारिक प्रतिबन्ध लगाउनै बाँकी छ । उसले अहिले नै भारतको मोबाइल प्रदायकलाई धेरैजसो सामग्री आपूर्ति गर्छ ।