काठमाडौं ।
नेपालमा एकै दिन कोरोना अर्थात् कोभिड–१९ संक्रमितको संख्या नौ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार बुधबारदेखि बिहीबार दिउँसोसम्मको २४ घण्टाको अवधिमा देशभर नौ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१ हजार एक सय ४२ जनाको परीक्षण गर्दा उक्त संख्यामा कोरोना लागेको पुष्टि भएको हो ।
सोमबार सात हजार चार सय ४८ जना, मंगलबार सात हजार छ सय ६० जना, बुधबार आठ हजार छ ५९ जनामा कोरोना पुष्टि भएको थियो । बिहीबार दुई हजार सात सय सात जना संक्रमणमुक्त भएका छन् भने एकै दिन ५४ जनाको मृत्यु भएको छ । बिहीबार काठमाडौं जिल्लामा तीन हजार एक सय ६३ जना, ललितपुरमा पाँच सय ६७ जना र भक्तपुरमा दुई सय ४२ जनामा कोरोना पुष्टि भएको छ ।
बिहीबार पीसीआर विधिबाट २० हजार तीन सय ६७ र एन्टिजेन विधिबाट सात सय ७५ जनाको परीक्षण गरिएको थियो । बिहीबारसम्म नेपालमा कोरोना भाइरस संक्रमित तीन लाख ६८ हजार पाँच सय ८० पुगेका छन् । त्यस्तै पछिल्लो समय थप दुई हजार सात सय सात जना निको भएका छन् । यससँगै निको हुने दुई लाख ९२ हजार चार सय ९० छन् । निको हुने दर भने ७९ दशमलव चार प्रतिशत छ ।
देशभर ७२ हजार पाँच सय ६१ सक्रिय संक्रमित छन् । तीमध्ये ६७ हजार दुई सय ४६ जना होम आइसोलेसनमा र पाँच हजार तीन सय १५ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै छ सय ५२ जनाको सघन उपचार कक्ष र दुई सय एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । तीन सय १४ जना क्वारेन्टिनमा छन् । बिहीबारसम्म नेपालमा २५ लाख ७८ हजार चार सय १८ जनाको पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा तीन हजार पाँच सय २९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री विदेशबाट ल्याउने काम थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज आचार्यले बिहीबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा उपलब्ध नभएका, तत्काल खरिद गर्नुपर्ने औषधि, स्वास्थ्य सामग्री र उपकरण विदेशबाट खरिद, प्राप्ति र आयात गर्ने सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राथमिकताका साथ निरन्तर आवश्यक पहल भइरहेको जनाएका छन् ।
यस्तै कोभिड–१९ सङ्क्रमितको उपचारका लागि बङ्गलादेशबाट पाँच हजार रेम्डेसिभिरको मात्रा ल्याइने भएको छ । विज्ञप्तिमा ढाकास्थित बेक्सिमको फार्मामार्फत आईएफआईसी र नेपाल बङ्गलादेश बैंकले संक्रमितको उपचारार्थ पाँच हजार रेम्डेसिभिरको मात्रा ल्याउने पहल परराष्ट्र मन्त्रालयबाट गरिएको जनाइएको छ । गत मंगलबार मात्र तीन हजार मात्रा रेम्डेसिभिर नेपाल ल्याइएको थियो । यस्तै, चीन सरकारले अनुदानस्वरुप नेपाललाई उपलब्ध गराउने पाँच मिलियन (चिनियाँ मुद्रा) स्वास्थ्य सामग्री एवं उपकरण सहायता ल्हासा आइपुगेको जनाइएको छ ।