काठमाडौं ।
प्रहरीले रेम्डिसिभिर इन्जेक्सन कालोबजारी गर्नेलाई पक्राउ गरेको छ । काठमाडौँ टोखा बस्ने गोरखा आरुघाट गाउँपालिका–४ घर भएका २५ वर्षीय रफिक मियालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
हाल विश्वभरि महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट संक्रमितलाई आवश्यक पर्ने रेम्डिसिभिर इन्जेक्सन कालोबजारी गरेको अभियोगमा उनी पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले करिब ३० हजार रूपैयाँ मूल्य पर्ने छ थान रेम्डिसिभिर इन्जेक्सन एक लाख २० हजारमा किनबेच गर्ने भनी बार्गेनिङ गरी बसुन्धाराबाट उनलाई रेम्डिसिभिर इन्जेक्सनसहित पक्राउ गरेको हो ।
मियाले काठमाडौँ महाराजगञ्जस्थित निलकण्ठ लम्सालको नाममा दर्ता रहेको सेवक फर्माका दिपक ढकालसँगको मिलेमतोमा उक्त औषधि ल्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । उक्त फर्मा सिल गरी हाल फरार रहेका दिपकको खोजी भइरहेको उक्त महाशाखाले जनाएको छ ।