काठमाडौं ।
एनआईसी एसिया बैंकले बचतसँगै बीमा सुविधाले भरिपूर्ण चामत्कारिक बचत सिरिजअन्तर्गत उपलब्ध २० लाख बीमा रकम भुक्तानी गरेको छ । जनही १० लाख रुपैयाँका दरले दुई जना ग्राहकहरूलाई उक्त रकम भुक्तानी गरिएको बैंकले जानकारी दिएको छ ।
सियारी गाउँपालिकाको हर्नैया स्वास्थ्य चौकीमा कार्यरत बुटवल निवासी ४४ वर्षीया निशा श्रेष्ठ आले कक्षपतिले बैंकको रूपन्देही जिल्लास्थित सियारी शाखामा सुपर चामत्कारिक तलब बचत खाता खोलेकोमा सो खातामा रहेको खातावाल तथा निजको परिवारका सदस्यहरूलाई समेत उपलब्ध बीमा सुविधाअनुरूपउनका पति जवीन प्रसाद कक्षपतिको घातक रोग उपचारवापत निज खातावालाले उक्त रकम प्राप्त गरेकाहुन् ।
साथै सोही जिल्लाको रुद्रपुर शाखामा न्यू सुपर चामत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोलेका कञ्चन गाउँपालिका–३ निवासी ४७ वर्षीया बिन बहादुर वर्मालाई घातक रोगको उपचारबापत उक्त रकम भुक्तानी गरिएको छ । उक्त बीमा रकम बैंकले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो ।
बैंकले हाल न्यू प्रिमियम सुपर चामत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहकहरूलाई भविष्यमा आइपर्न सक्ने भवितव्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बीमा सुविधा प्रदान गर्दै आएको छ ।
यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्णरूपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्चबापत एक लाख (अस्पताल भर्नामा ८० हजार र बहिरंग उपचारमा २० हजार)सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहकहरूले पाउन सक्नेछन् ।
बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका चार सय ४५ जनाभन्दा बढी ग्राहकहरूले बीमाबापतको दुई करोड ९० लाखभन्दा बढी रकम प्राप्त गरिसकेका छन् । यस किसिमका बीमासहितको बचत योजनाहरूबाट आम सर्वसाधारणलाई बचत गर्न थप प्रोत्साहन मिलेको बैंकले विश्वास लिएको छ ।