काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीमा भ्रष्टाचार गरेमा कुनै पनि हालतमा क्षम्य नहुने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनताको जीवनरक्षा पहिलो प्राथमिकता भएको हुँदा यस्तो अवस्थामा अर्थात् कोरोना महामारीमा भ्रष्टचार गरेमा त्यो कुनै हालतमा क्षम्य नहुने बताए ।
कोरोनाविरुद्धको खोप खरिद प्रक्रियामा हुकुम डिष्ट्रिब्युसन एण्ड लजिस्टिक प्रालिले नियमविपरीत कमिसन माग गरेको भन्दै प्रधानमन्त्री ओली नेतृत्वको सरकारको आलोचना भएको थियो ।
‘महामारीमा पनि हामीले भनेका छौँ, जनताको जीवनरक्षा पहिलो प्राथमिकता हो । यस्तो अवस्थामा पनि कसैले भ्रष्टचार गर्छ भने त्यो कुनै पनि हालतमा क्षम्य हुँदैन, कसैलाई पनि छुट दिनेछैनौँ त्यसमा छानबिन हुन्छ’, उनले भने, ‘दोषी पाइएमा कारबाही हुन्छ ।’
उनले कोरोनाविरुद्धको औषधि खरिदमा भएको भ्रष्टाचारको नाममा सरकारविरुद्ध कुरा उछाल्ने र नभएका अनुचित संलग्नता देखाउने क्रियाकलाप भएको बताए । कोरोनाविरुद्धको खोप अभाव विश्व समुदायमै भएको र यसले गर्दा खोप लिन तँछाडमछाडको अवस्था रहेको उनको भनाइ छ । उनले भने, ‘यस्तो अवस्थामा पनि नेपाल दक्षिण एसियामा भारतलाई छाड्ने हो भने खोप लगाउन सुरु गर्ने पहिलो मुलुक बन्यो ।’
अहिले खोप लगाउने प्रक्रिया चलिरहेको उल्लेख गर्दै उनले पीसीआर सुविधा नभएको ८६ ठाउँमा उक्त सुविधा उपलब्ध गराएको बताए । ‘महामारीजस्तो विषम परिस्थितिमा स्थानीय तह, प्रदेश सरकार, संघ/संस्था सरकारको सम्पूर्ण संयन्त्र सबैको साथ सहयोग लिएर सफलतापूर्वक पहिलो कोरोना लहरलाई तुलनात्मक हिसाबले भन्ने हो भने न्यून क्षतिमै सरकारले नियन्त्रण गर्न सक्यो’, प्रधानमन्त्री ओलीले भने, ‘दोस्रो लहरको महामारीको सामना गर्नुपर्नेछ । त्यसको लागि नयाँ नयाँ अस्प्ताल, आईसीयू, बेड, अक्सिजन उत्पादनमा वृद्धि सिलिण्डर प्राप्त गर्नेदेखि लिएर बाहिरबाट ल्याउने तथा खोप समेत विभिन्न मुलुकबाट मगाउने काम भइरहेको छ ।’
म कहाँ आबद्ध र संलग्न छु भनेर होइन सत्यलाई पछ्याएर निर्णय गर्नु आवश्यक रहेको बताउँदै उनले वर्तमान सरकारलाई कुनै पनि हिसाबले विश्वास गर्न नपर्ने ठाउँ नरहेको बताए ।
यस्तै उनले आफू र भारतीय रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौता भएको भन्दै भ्रम फैलाइएको बताए । ‘फलानो देशको अधिकारीसँग गरेको हस्ताक्षर भन्दै नक्कली पत्रमा मेरो हस्ताक्षर गरेको छ । अब योभन्दा तमासा अन्त कहाँ हुन्छ ?’, उनले भने, ‘नक्कली कागजमा प्रधानमन्त्रीको हस्ताक्षर स्क्यान गरेर भ्रम फैलाइएको छ । यस्तो खेल हाम्रोमा मात्रै हुन्छ । यस्तो तमासालाई दुःख व्यक्त गर्न चाहन्छु । हामी यतिसम्म तल झर्नुहुँदैन ।’