काठमाडौं ।
राष्ट्रिय किसान आयोगका नवनियुक्त पदाधिकारीहरूले सपथग्रहण गरेका छन् । आयोगका नवनियुक्त अध्यक्ष डा. प्रेमप्रसाद दंगालसहित सदस्यहरूले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा सपथग्रहण गरेका हुन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले नवनियुक्त अध्यक्ष डा. प्रेमप्रसाद दंगाललाई सपथग्रहण गराएकी हुन् । त्यसैगरी अध्यक्ष दंगालले नवनियुक्त विज्ञ सदस्य पुष्पा भुसाल, सहकारी सदस्य टेकबहादुर बोगटी र किसान सदस्यहरू सूर्यप्रसाद खनाल, मञ्जु धिमाल, जीवन्ती पौडेललाई सपथग्रहण गराएका थिए ।
आयोगका रिक्त अध्यक्षसहित सदस्यहरूको गत वैशाख १९ गतेको मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको थियो । योसँगै किसान आयोगमा रिक्त सम्पूर्ण पदहरूमा पूर्णता पाएको छ । सपथग्रहण कार्यक्रममा कृषिमन्त्री अर्यालले किसानका समस्याहरूमा केन्द्रित रहेर विस्तृत अध्ययन गरी समस्या समाधानमा योगदान गर्न आग्रह गरेकी छिन् । आयोगले झण्डै दुई तिहाइ जनसंख्या कृषिमा आधारित रहेको अवस्थामा समग्र कृषि क्षेत्रका समस्याहरूको पहिचान, प्राथमिकीकरण र समाधानका निमित्त स्पष्ट मार्गदर्शन पहिल्याउने अपेक्षा आफूले गरेको उनको भनाइ थियो ।
अर्यालले कृषि क्षेत्रका मौजुदा नीति, ऐन, नियमलगायतका कानुनी व्यवस्थामा रहेका नीतिगत भिन्नतालाई समयसापेक्ष सुधारका सम्बन्धमा राय, नयाँ नीति, ऐन वा नियमावली निर्माणमा सहयोग, किसान कल्याणकारी योजना तर्जुमा, किसान पहुँचको सुनिश्चितता, बजार सरलीकरण, कृषि पेसालाई आकर्षित एवं सम्मानित बनाउन आवश्यक सुझाव तथा पहलकदमी, किसान संघसंगठनरूको दर्ता तथा नियमनलगायतका कार्यहरूमा नेपाल सरकारलाई सल्लाह, सुझावसहितका कार्यहरू निरन्तररूपमा अगाडि बढाउन पनि उनले आग्रह गरिन् ।
कोरोना महामारीले कृषि क्षेत्रमा पारेका असरहरूको अध्ययन गर्दै किसानलाई आवश्यक उत्पादन सामग्रीको उपलब्धता तथा उत्पादन भएका कृषि उपजहरूलाई बजारको सुनिश्चिततामा समेत आवश्यक सुझाव सरकारलाई पेस गर्न उनले अनुरोध गरिन् ।