नयाँ दिल्ली ।
कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या अघिल्लो दिनहरुको तुलनामा केही कमी आएको छ ।
एएनआईका अनुसार भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा तीन लाख ६६ हजार व्यक्ति संक्रमित भएको जनाएको छ । योसहित भारतमा हालसम्म कुल संक्रमितको संख्या दुई करोड २६ लाख ६२ हजार पुगेको छ ।
साथै, विगत २४ घण्टामा तीन हजार सात सय ५४ जनाको मृत्यु भएको छ । भारतमा योसहित दुई लाख ४६ हजार एक सय १६ जनाको कोभिड–१९ को संक्रमणबाट ज्यान गइसकेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ५३ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमणमुक्त भएका छन् । हालसम्म भारतमा योसहित एक करोड ८६ लाख ७१ हजार व्यक्ति संक्रमणमुक्त भएको पाइएको छ ।
यसैबीच, गत जनवरीबाट थालिएको कोभिड–१९ विरुद्धको खोप लगाउने व्यक्तिको संख्या १७ करोड दुई लाख पुगेको मन्त्रालयले जनाएको छ । हाल भारतमा १८ वर्षभन्दा माथिका व्यक्तिलाई खोप दिन थालिएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार भारतमा ३० करोड ३७ लाख नमूना परीक्षण गरिएको छ ।
भारतमा कोभिड–१९ को दोस्रो लहरले स्वास्थ्य संस्थामाथि ठूलो दबाब आएको छ । अक्सिजन, शय्या, औषधि र अस्पतालको अभावमा मानिसहरुले सामान्य उपचार समेत नपाएर अकालमा ज्यान गुमाउनुपरेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।
यसैबीच, कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ३३ लाख छ हजार व्यक्तिको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
विश्वमै सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा पाँच लाख ९५ हजार, ब्राजिलमा चार लाख २२ हजार, भारतमा दुई लाख ४६ हजार, मेक्सिकोमा दुई लाख १८ हजार, बेलायतमा एक लाख २७ हजार, इटालीमा एक लाख २२ हजार, रसियामा एक लाख १३ हजार तथा फ्रान्समा एक लाख छ हजारको कोभिड–१९ को संक्रमणबाट मृत्यु भइसकेको छ ।
पछिल्लो समय संयुक्तराज्य अमेरिका र युरोपमा कोरोनाभाइरस विरुद्धको खोप व्यापक स्तरमा लगाउन थालिएपछि कोभिड–१९ बाट प्रभावितहरुको संख्यामा उल्लेख कमी आएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।