वासिङटन ।
अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ बाट संक्रमण पुष्टि हुनेको संख्या ४१ हजारभन्दा बढी रहेको छ । उक्त समयमा कोभिड–१९ संक्रमित छ सय ६७ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट संक्रमण हुनेको संख्यामा पछिल्लो दुई हप्तामा अत्यधिक कमी आएको यहाँको सरकारी तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार विगत दुई हप्तामा संक्रमित संख्या ३० प्रतिशतको हाराहारीमा कम भएको देखिएको छ ।
अमेरिकामा सोमबारसम्म कुल पाँच लाख ९५ हजार तीन सय दुई कोभिड संक्रमितको मृत्यु भएको छ । यो दुई हप्तामा मृत्यु संख्यामा छ प्रतिशतले कमी आएको बताइएको छ ।
पछिल्लो तथ्यांकअनुसार अमेरिकामा विगत २४ घण्टामा ३९ हजार ७२ व्यक्ति अस्पतालमा कोरोना उपचारको लागि भर्ना भए पनि अघिल्लो हप्ताभन्दा अस्पताल पुग्ने बिरामीको संख्या अत्यधिक कम रहेको उल्लेख गरिएको छ ।
आइतबारसम्म कोरोनाबाट संक्रमित हुने अमेरिकीको संख्या तीन करोड २७ लाख ७९ हजारभन्दा बढी रहेको छ । यहाँ कोभिड–१९ विरूद्धको दुवै खोप लगाउनेको संख्या ३४ प्रतिशत पुगेको छ भने एक मात्रा मात्र खोप मात्र लगाउनेको संख्या ४६ प्रतिशत पुगेको छ ।