काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले कोभिड १९ को महामारीको संक्रमण बढिरहेको भन्दै सुरक्षाका मापदण्ड अपनाएर कारोबार सञ्चालन गर्न निर्देशन दिएको छ । बोर्डले बिहीबार अनुुमतिप्राप्त धितोपत्र दलाल, मर्चेन्ट बैंकर एवं सम्बन्धित सबै पक्षहरुको नाउँमा सूचना जारी गर्दै सुरक्षित रुपमा कारोबार सञ्चालन गर्न निर्देशन दिएको हो ।
‘गत वर्षदेखि लगानीकर्ताहरु प्रत्यक्ष उपस्थित नभई अनलाइनमार्फत धितोपत्र कारोबार गर्नसक्ने बनाइएको हुँदा सिस्टम सञ्चालन गर्नबाहेक सबैलाई कार्यालयमा भौतिक उपस्थित नभई कार्य गर्न सूचित गरिन्छ’, बोर्डले विज्ञप्तिमार्फत भनेको छ ।
बोर्डका अनुसार सिस्टम सपोर्ट र सूचना प्रविधि कार्य ‘वर्क फ्रम होम’मार्फत सञ्चालन गर्ने, सिस्टम सञ्चालन गर्नको लागि कार्यालयमा तीन जनाभन्दा बढी कर्मचारी नखटाउने, गुनासा तथा समस्या समाधानका लागि प्रयोग भइरहेको कार्यालयको फोनलाई कल डाइभर्ट गरी घरैबाट त्यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था गर्ने र थप मोबाइल नम्बरहरु उपलब्ध गराउन निर्देशन दिएको छ ।
यसैगरी ससाना लगानीकर्ताहरुलाई दैनिक घर खर्च वा औषधि उपचारको लागि सेयर बेचेको अवस्थामा लगानीकर्र्ताहरुको अनुरोधमा सम्बन्धित ब्रोकरले सम्भव भएसम्म आवश्यकताअनुसारको रकम तत्काल उपलब्ध गराउन एवं कर्मचारीहरुमा कोरोनाको लक्षण देखिएमा तत्काल आईसोलेट हुुने व्यवस्था गरी परीक्षण गराउने व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।