काठमाडौं ।
अर्को सातासम्म नेपाललाई अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामग्रीहरू सहयोग हुनेभएको छ । नेपालका उपप्रधानमन्त्री ईश्वर पोखरेलसँगको टेलिफोन वार्तामा नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले उक्त जानकारी दिएका हुन् ।
बिहीबार भएको टेलिफोन संवादमा पोखरेलले नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिने वातावरण मिलाइदिन अमेरिकी राजदूत बेरीलाई आग्रह गरेका थिए । नेपालमा कोराना भाइरसको तीव्र फैलावट रोक्न खोप नै उपपुक्त माध्यम भएकाले त्यसका लागि नेपाल सरकारले अमेरिका सरकारको सहयोग चाहेको भन्दै अमेरिकी खोपको नेपालमा उत्सुकता र तीव्र प्रतीक्षा रहेको उपप्रधानमन्त्री पोखरेलले जानकारी गराएका थिए ।
साथै कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक भेन्लिटेलर, पीपीई, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्तिलगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको उनको भनाइ थियो ।
सहयोगबारे आगामी आइतबारसम्म टुङ्गो लाग्ने जनाइएको छ । ‘खोपबारे मैले पनि पहल गरिरहेको छु, टुङ्गो लाग्नासाथ तपाईंलाई जानकारी गराउँछु’, उपप्रधानमन्त्रीलाई राजदूत बेरीले भने । राजदूत बेरीले हप्तामा दुईवटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाइदिन पनि उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरेका थिए । उपप्रधानमन्त्री पोखरेलले यसका विषयमा आफूहरूले पनि सोचिरहेको भन्दै सीसीएमसीको बैठकबाट आवश्यक निर्णय गरिने जानकारी दिएका थिए ।