काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञा घोषणापश्चात् परिचालन गरेको ठगीविरुद्धको विशेष अपरेसन टोलीले विभिन्न स्थानहरूमा यात्रु ठगी गर्नेलाई दैनिकरूपमा पक्राउ गरेको छ । ट्राफिक प्रहरीले बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरूलाई निगरानी गरी हालसम्म ३३ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।
ठगी गर्नेहरूविरुद्धको अपरेसन टोलीले वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामको सिलसिलामा उपत्यकाबाहिर जाने यात्रुसँग छ गुणासम्म बढी भाडा लिनेगरेको र त्यस्तो कार्यमा काउन्टरका कर्मचारीहरूको समेत संलग्नता पाएपछि पक्राउ गरेको महाशाखाले जनाएको छ । निषेधाज्ञापश्चात् यात्रुहरूसँग तोकिएको भन्दा बढी भाडा लिने गिरोहलाई कारबाही गर्न छुट्टै डेडिकेटेड अपरेसन टोली परिचालन गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।