काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच ऐतिहासिकरूपमा मर्जर सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकले ठूला बैंकहरूलाई बिग मर्जरमा जान प्रोत्साहन गरिरहेको अवस्थामा दुवै बैंकहरूले बिहीबार मर्जरसम्बन्धी ऐतिहासिक सम्झौता गरेका हुन् ।
सम्झौतामा नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसीप्रसाद गौतमले हस्ताक्षर गरेका हुुन् । दुवै बैंकले सयुुक्तरूपमा जारी गरेको विज्ञप्तिअनुसार बिहीबार दिनको तीन बजे अन्ततः नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर तथा एक्वीजिसन नीतिको अनुसरण गर्दै नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच एकआपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंक तथा हिमालयन बैंक दुवै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंकहरूको रूपमा सबल एवं सक्षम संस्थाको रूपमा सुपरिचित रहेका छन् । बैंकहरू एकआपसमा गाभिएपछि वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गरी देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नुका साथै यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरूलाई समेत मर्जरको लागि प्रेरित गर्ने देखिन्छ ।
मर्जरपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक लि.’ हुने र सञ्चालक समितिको अध्यक्षको रूपमा पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रूपमा अशोक समसेर राणा रहने सहमति भएको छ । त्यसैगरी मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिमा दुवै बैंकको तर्फबाट तीन/तीन जना सञ्चालक नियुक्त हुने र नयाँ सञ्चालक समितिले स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा सात जनाको सञ्चालक समिति हुनेछ ।
हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १६ अर्ब २६ करोड रुपैयाँ रहेको छ भने हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । एकीकृत कारोबारपश्चात् बन्ने बैंकको चुक्ता पुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्नेछ ।
त्यसैगरी हाल नेपाल इन्भेष्टमेन्ट बैंकको जगेडा तथा कोष १४ दशमलव १० अर्ब र हिमालयन बैंकको सात दशमलव ६७ अर्ब कर्जा लगानीतर्फ हाल नेपाल इन्भेष्टमेन्ट बैंकको एक सय ६० दशमलव ९८ अर्ब र हिमालयन बैंकको एक सय २७. दशमलव १४ अर्ब, र निक्षेपतर्फ नेपाल इन्भेष्टमेन्ट बैंकको एक सय ६८ दशमलव २९ अर्ब र हिमालयन बैंकको एक सय ४३ दशमलव ७० अर्ब रहेको हुँदा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुनेछ ।
दुवै बैंकहरू एकआपसमा गाभिएपश्चात् संस्थाको पुँजी वृद्धि, कार्यक्षेत्र तथा कार्यक्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवं सक्षम बैंकको रूपमा वित्तीय बजारमा स्थापित भई ग्राहकवर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरूलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिबद्धताका साथ यो मर्जरकार्यमा लागेको दुवै बैंकका अध्यक्षहरूले जानकारी गराएका थिए । उनीहरूले यो रूपान्तरणकारी प्रयासमा हौसला दिने तथा साथ सहयोग पु¥याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।