काठमाडौं ।
नेपाली बैंकिङ प्रणालीमा झण्डै दुई प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा लघुवित्त वित्तीय संस्थाबाहेकका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १९ वटा विकास बैंक र २० वटा फाइनान्स कम्पनीसहितका ६६ वटा संस्थाहरुले कुल ३८ खर्ब ५२ अर्ब ६३ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त कर्जामध्ये यस अवधिमा औसतमा एक दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय देखिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुमा मात्र भने कुल एक दशमलव ७१ प्रतिशत निष्क्रिय देखिएको छ । यस अवधिमा वाणिज्य बैंकहरुले ३८ खर्ब २६ अर्ब ९९ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ३४ खर्ब ११ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा उक्त अनुपातको कर्जा निष्क्रिय देखिएको हो ।
विकास बैंकहरुले भने चालू आवको पछिल्लो आठ महिनामा चार खर्ब १७ अर्ब एक करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ५९ अर्ब ५४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा एक दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक र विकास बैंकहरुको तुलनामा फाइनान्स कम्पनीहरुमा भने औसत निष्क्रिय कर्जा बढी देखिएको छ । फाइनान्स कम्पनीहरुले चालू आवको पछिल्लो अवधिमा एक खर्ब एक अर्ब ३६ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब नौ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह औसतमा छ दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अहिले पनि धेरै वटा फाइनान्स कम्पनीहरु समस्याग्रस्तमुक्त घोषणा भएसँगै सुधारको प्रक्रियामा रहेका कारण वाणिज्य बैंक र विकास बैंकहरुको तुलनामा फाइनान्सहरुमा निष्व्रिmय कर्जा बढी देखिएको हो, राष्ट्र बैंकले भनेको छ ।