काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले घर–घरमा अक्सिजनको सिलिन्डर राखेर अस्पतालमा अभाव सिर्जना गरिएको भन्दै तत्कालै एक्सनमा जान निर्देशन दिएका छन् । ‘सुरक्षाका मापदण्ड नअपनाउने, कोभिड लाग्छ भनेर अक्सिजन घरमै लगेर राख्ने प्रवृत्ति बढेको छ, यसले अस्पतालको बिरामीलाई पनि बचाउन सक्दैन र घरमा राखेको अक्सिजनले पनि काम गर्दैन’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस कुरामा जनचेतना जगाउनु आवश्यक देखियो ।’
सरकारले तत्काल गर्ने कामको रुपमा अहिले अक्सिजन आपूर्ति, उत्पादन र वितरणलाई लिएको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले सरकारको प्राथमिकता प्रस्तुत गर्दै भने, ‘अक्सिजन खरिद र वितरणका लागि तत्काल के–के गर्नुपर्छ गर्ने, निजी अस्पतालमा बढेको नाफाखोर प्रवृत्ति हटाउने, भेन्टिलेटर अपुग भए तत्काल मगाएर त्यसको पूर्ति गर्ने काम गर्नुप-यो । मानवीय संकटको बेला ३५ दिने सूचना पर्खेर बसे नागरिकको ज्यान जान्छ ।’
शनिबार विभिन्न अस्पतालका सञ्चालक, चिकित्सक, विज्ञ, अक्सिजन उत्पादक, वितरक, निजी क्षेत्र, मन्त्री र सरकारी निकायसँगको विशेष छलफल आयोजना गर्दै प्रधानमन्त्री ओलीले मानव जीवन रक्षाका लागि तीव्र रफ्तारमा काम गर्न पनि निर्देशन दिए ।
कोभिड १९ को दोस्रो भेरियन्ट संक्रमणका सन्दर्भमा आयोजित विशेष छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यसको नियन्त्रणका लागि सरकारले चालेका कदमका विषयमा जानकारी दिँदै विभिन्न निकायले गर्नुपर्ने कामबारे निर्देशन दिएको शनिबार साँझ प्रधानमन्त्रीको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा जनाइएको छ ।
बिरामीलाई खोजेको औषधि र अन्य उपचार सामग्री नपाएर मर्छु भन्ने मनोविज्ञानबाट समेत मुक्त गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘बिरामीले मैले खोजेको औषधि पाउँदिनँ, अक्सिजन पाउँदिनँ भन्ने सोच्नु नपरोस्’, प्रधानमन्त्रीले भने, ‘तत्काल उपलब्धता र सुलभताका लागि तपाईंहरु सबैको सक्रियता आवश्यक छ ।’
प्रधानमन्त्री ओलीले मानवीय संकटका बेला तत्काल आवश्यक सामग्री खरिद गर्दा अफवाह फैलाएर जे कुरामा पनि भ्रष्टाचार नै हुन्छ भन्ने स्थायी प्रचारले काम गरिरहेकाहरुको मनोबल गिर्नेतर्फ सचेत रहन पनि प्रधानमन्त्रीले आग्रह गरेका थिए । ‘भ्रष्टाचार भयो भने क्षम्य हुँदैन, तर मानव संकटलाई राजनीतीकरण गर्न स्थायी रुपमा भ्रष्टाचारको अफवाह फैलाएर महामारीसँग अग्रमोर्चामा लडिरहेकालाई ह्यारेसमेन्ट गर्ने, बदनाम गर्ने र कामबाट निरुत्साहित गर्ने प्रवृत्ति छ’, प्रधानमन्त्री ओलीले भने, ‘मानवीय रक्षाको लागि गरेका प्रयासहरुलाई विकृत रुपमा व्याख्या गर्ने पेशा नै भएकाहरुसँग सजग रहेर महामारीबाट जनतालाई बचाउनु पर्दछ ।’
प्रधानमन्त्री ओलीले विज्ञहरुलाई आफूले प्रयोग गर्ने टर्मिनोलोजीमा परिवर्तन गर्न सुझावसमेत दिए । ‘हाम्रो स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भन्नेजस्ता टर्मिनोलोजी प्रयोग नगरौँ, महामारीलाई धान्ने प्रणाली अपुग भएको हो, कोल्याप्स भएको होइन’, प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘हामीसँग यसअघि नभएका प्रणालीहरुलाई पनि हामीले यसबीचमा विस्तार गरेका छौँ, त्यसैले प्रणाली कोल्याप्स भएको होइन ।’
विश्वव्यापी रुपमा आएको महामारी सबैको साझा समस्या भएको बताउँदै प्रधानमन्त्री ओलीले यसका विरुद्ध मिलेर सामना गर्नुपर्ने पनि बताए । उनले राजनीतिक विपक्षीहरुले सरकारले कामै गरेन भनेर महामारीबाट लाभ लिने प्रयास गरेको आरोप लगाए । ‘हाम्रा विपक्षीले भनेजस्तो सरकारले केही नगरेको होइन, सरकारले गरेको छ, गर्छ र गर्नेछ’, प्रधानमन्त्री ओलीले भने, ‘सिमसिम पानीमा छाता ओढेर ओत लागेजस्तो आँधी आउँदा छाताले थेग्दैन । त्यस्तै भएको हो ।’
छलफलमा सीसीएमसी र स्वास्थ्य मन्त्रालयका तर्फबाट अहिले भएका कामबारे रिपोर्ट प्रस्तुत गरिएको थियो । उपत्यकाका विभिन्न अस्पतालका सञ्चालक, अक्सिजन उत्पादक र वितरकहरुले आ–आफ्नो तर्फबाट महामारी नियन्त्रण प्रभावकारी बनाउनेबारे सुझाव दिएका थिए ।