काठमाडौं ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार विस्तार गरेको मन्त्रिपरिषद्मा सबै यसअघिकै सरकारका सदस्यहरू रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभाको ठूलो दलका नेताका हैसियतमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिम बिहीबार नियुक्त प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफूले सम्हालेका छन् ।
यस्तै, उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीमा पुनः नियुक्त गरिएको छ भने विस्तारित मन्त्रिपरिषद्मा २२ मन्त्री र तीन राज्यमन्त्री छन् । नियुक्तमध्ये २० मन्त्री र दुई राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिए ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त भएको तीस दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गनुपर्ने संवैधानिक स्थिति रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (३) अनुसार प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दल नेकपा (एमाले) संसदीय दलको नेताका रूपमा बिहीबार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने गरी प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्दा कसैको पेश नभएपछि संविधानको धारा ७६ को उपधारा (३) अनुसार ओलीलाई प्रधानमन्त्रीमा पुनः नियुक्त गरेकी हुन् ।
प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । उक्त उपधारा (४) मा ‘उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ’ भन्ने व्यवस्था छ ।