काठमाडौं ।
एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स पठाउन सकिने भएको छ । डिजिटल फष्टको रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिकरूपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले बैंकले पछिल्लो समय ग्राहकहरूलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङको अभ्यासलाई ग्राहकहरू सामुन्ने आफ्नो मोबाइल बैंकिङ तथा आई सर्भमार्फत अघि बढाइरहेको जानकारी दिएको छ ।
सेल्फ हेल्प बैंकिङको अवधारणाअनुरूप नै बैंकले आफ्ना ग्राहकहरूको लागि एनआईसी एसिया मोबाइल बैंकमार्फत आन्तरिक रेमिट्यान्स सहजै देशभर पठाउन सकिने सुविधा ल्याएको छ । यो सेवाअन्तर्गत अब ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि आफ्नो एनआईसी एसिया मो बैंकबाट रेमिट रकम सहजरूपमा पठाउन सक्नुहुनेछ ।
ग्राहकहरूले आफ्नो मोबाइल प्रयोग गरी बैंकको एनआईसी एसिया मोबाइल बैंकभित्र रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षितरूपमा रेमिट्यान्स पठाउन सक्नेछन् । यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १० हजारभन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।
कोरोना भाइरसको महामारीको समयमा डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स पठाउन सकिने सुविधाले ग्राहकहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा उनीहरूको अमूल्य समयको बचत भई महामारीका बीच भौतिक दूरी कायम गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले गरेको छ ।
बैंकले हाल देशभर रहेका आफ्ना तीन सय ५२ वटा शाखा कार्यालयहरू, चार सय ७१ एटीएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुनपुगेको छ । २२ लाखभन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब दुई अर्ब ६५ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।