वेइजिङ ।
चीनले पठाएको एउटा यानले रातो मंगलग्रहमा अवतरण गरेको छ । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले शनिबार बिहान चीनको एउटा रोबोट मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको घोषणा गरेको हो ।
सिन्ह्वाका अनुसार राष्ट्रपति सी चिनफिङले चिनियाँ वैज्ञानिकहरुको सफलताका लागि शुभकामना दिएका छन् । चीनले पृथ्वीबाहेक कुनै ग्रह वा उपग्रहमा पहिलो पटक आफूले विकास गरेको यान अवतरण गराएको छ ।
सीएनएसएका प्रमुख झाङ केजियानले चिनियाँ अन्तरिक्ष नियन्त्रण केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा मंगल खोज अभियान पूर्ण सफल भएको घोषणा गरेका थिए । रोबोट मंगलग्रहको सतहमा अवतरण गरेको जानकारी प्राप्त हुनासाथ नियन्त्रण कक्षमा खुसी र उमंग छाएको थियो ।
उनले चीनको अन्तरिक्ष खोजका लागि यो एउटा अर्को महत्वपूर्ण कोशेढुंगा रहेको बताए । तियानवेन–१ नामको यानमार्फत पठाइएको झुरोङ मंगलग्रहको दक्षिणी युटोपिया प्लानिटियामा अवतरण गरेको थियो ।
बेइजिङ समयअनुसार बिहान ७ बजेर १८ मिनेटमा अवतरण गरेको नियन्त्रण कक्षले जनाएको छ । मंगलग्रहमा अवतरण गरेपश्चात् उक्त रोबोटले विस्तारै सोलार प्यानल र एन्टेना खोलेको र त्यसपछि सिग्नल पठाउन थालेको थियो । पृथ्वीबाट मंगलग्रहबीचको दूरी ३२ करोड किलोमिटर टाढा रहेकाले समय अन्तराल १७ मिनेट रहेको छ ।
तियानवेन–१ गत जुलाई २३, २०२० मा दक्षिणी चीनको हैनानबाट प्रक्षेपण गरिएको थियो । यसमा एउटा अर्बिटर, ल्यान्डर र रोभर (रोबोट) रहेको थियो । छ पाङ्ग्रा भएको झुरोङ नामको यस रोबोटको तौल २० केजी छ, र यसको आयु करिब तीन महिना हुने चिनियाँ वैज्ञानिकहरुले बताएका छन् ।
मंगलग्रहमा यसअघि अमेरिकाले एउटा यान यसै वर्ष अवतरण गराएको थियो । विश्वमै चीन मंगलग्रहमा यान पठाउने दोस्रो देश भएको छ । यसअघि भारतले गरेको प्रयास अन्तिम समयमा असफल भएको थियो ।