काठमाडौं ।
नेपाल राष्ट्र बैंकले जेठ ३ गते अर्थात् आज सोमबार पुनः १३ अर्ब ७४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही वैशाख २७ गते पनि राष्ट्र बैंकले आठ अर्ब १८ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति जेठ ४ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरीमध्ये ९१ दिने अवधिको दुई अर्ब, एक सय ८२ दिने अवधिको नौ अर्ब ८५ करोड ५० लाख र तीन सय ६४ दिने अवधिको एक अर्ब ८९ करोड रुपैयाँको रहेको छ । यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७८ भदौ १ गते र २०७८ कात्तिक ३० गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ जेठ ३ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बिक्री हुने उक्त ट्रेजरी पुरानो नवीकरणअन्तर्गत हो ।
यसअघि गत साता पनि राष्ट्र बैंकले ९१ दिने अवधिको १० करोड, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब आठ करोड रुपैयाँबराबरको ट्रेजरी बिल गरेको थियो । राष्ट्र बैंकका अनुसार सोमध्ये ९१ दिने अवधिको १० करोडको ट्रेजरीको लागि ८० करोड, एक सय ८२ दिने छ अर्बको ट्रेजरीको लागि १६ अर्ब ४२ करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब आठ करोड रुपैयाँबराबरको ट्रेजरीको लागि १२ अर्ब १३ करोड रुपैयाँबराबरको बोलकबोल परेको थियो ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र दुुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण लक्ष्य लिएको छ । सोअनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ५७ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकले चालू आवको दोस्रो चौमासिकमा पनि ५६ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाएको छ । ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा ऋण उठाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसैगरी चालू आवको तेस्रो चौमासिकमा भने राष्ट्र बैंकले एक खर्ब १२ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकले ४९ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र दुुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी गरेको छ ।