काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले मुलुक कोभिड १९ महामारीको संकटमा रहेको र यसबाट प्रभावित बनेका कृषकहरूलाई सरकारले राहत प्रदान गर्ने बताएकी छिन् । कोभिड नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण कृषि तथा पशुपन्छी क्षेत्रमा पर्नसक्ने प्रभावहरूको अध्ययन गरी सरकारबाट प्रदान गर्न सकिने सेवा सुविधाको सम्बन्धमा सरोकारवालासँग छलफल गरी क्षति पुगेका कृषकहरूलाई राहत प्रदान गर्न आवश्यक तयारी गर्न समेत उनले निर्देशन दिएकी छिन् ।
मन्त्रालयमा आइतबार विभागीय प्रमुखहरूसँग छलफल गर्दै मन्त्री अर्यालले महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने सबैखाले सुरक्षा मापदण्ड अपनाएर कृषकहरूका समस्या समाधान गर्न लाग्न समेत विभागीय प्रमुखहरूलाई निर्देशन दिइन् । साथै उनले महामारीका कारण अहिले देशभरका कृषकहरूले भोग्नुपरेका समस्या समाधान र कृषि उपज बजारीकरणका लागि आवश्यक सहयोग गर्न सबै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री तथा सचिवहरूसँग तत्काल भर्चुअल माध्यमबाट छलफल गरी आवश्यक कदम अगाडि बढाउने बताइन् ।
कृषि तथा पशुपन्छी बजार तथा ढुवानी सहजीकरणको लागि यसअघि नै मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासन कार्यालयहरूमा पत्राचार भइसकेको भन्दै मन्त्री अर्यालले थप सहजीकरणको आवश्यकता देखिएमा तत्काल सरकारलाई अनुरोध गर्नेगरी तयारी गर्न समेत आग्रह गरिन् ।