काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले एनआईसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एनआईसी एसिया सेलेक्ट–३० (इन्डेक्स फण्ड) स्वीकृत गरेको छ । बोर्डका अनुसार प्रतिएकाइ मूल्य १० रुपैयाँ दरको १० करोड एकाइमध्ये बीज पुँजीबापत न्यूनतम एक करोड ५० लाख एकाइ कोष प्रवद्र्धक एनआईसी एसिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम आठ करोड ५० लाख एकाइ निकट भविष्यमा नै सार्वजनिकरूपमा बिक्री गर्न स्वीकृति दिइएको हो ।
एनआईसी एसिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस एनआईसी एसिया सेलेक्ट –३० (इन्डेक्स फण्ड) सात वर्ष अवधि रहेको तेस्रो बन्दमुखी योजना हो । उक्त योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमा लगानी गरिनेछ ।
उक्त योजनाको प्रमुख विषेशता भनेको सूचीकृत कम्पनीहरूमा लगानी गर्दा सूचीकृत कम्पनीहरूबाट राम्रा मानिएका कम्पनीहरूमध्ये ३० वटा कम्पनीहरू छनोट गरी लगानी गरिनेछ । लगानी गरिने कम्पनीहरूको छनोट गर्दा विभिन्न आन्तरिक प्यारामिटर अनुसार गरिनेछ ।
सोहीअनुसार कम्पनीको छनोट गर्दा धितोपत्रको दोस्रो बजारमा सूचीकृत सम्पूर्ण समूह उपसमूहमा समावेश भएका कम्पनीहरूबाट समेत छनोट गरेर लगानी गरिने हुँदा ३० वटा कम्पनीमा गरिएको लगानीले समग्र स्टक एक्सचेञ्जमा कायम गरेको सम्पूर्ण समूह उपसमूहको प्रतिनिधित्व गर्ने भएकोले एनआईसी एसिया सेलेक्ट–३० फण्डलाई इन्डेक्स फण्ड भनिएको हो ।
विशेषत सूचीकृत कम्पनीहरूमा लगानी गर्दा ३० वटा कम्पनीहरूमा लगानी गरिने भए पनि लगानीको अवसर र चुनौती हेरी लगानी गर्ने कम्पनीहरूको संख्यमा थपघट हुन सक्नेछ र निश्चित समयपछि उक्त कम्पनीहरूको संख्यालाई पुनः मूल्यांकन गरी ३० भन्दा बढी नहुने गरी कायम गरिनेछ ।